जनसंख्याको ४४ प्रतिशतले प्रयोग गर्छ एलपी ग्यास, ९२ प्रतिशत बिजुलीको पहुँचमा – Nepal Press

जनसंख्याको ४४ प्रतिशतले प्रयोग गर्छ एलपी ग्यास, ९२ प्रतिशत बिजुलीको पहुँचमा

काठमाडौ । पछिल्लो समय खाना पकाउन दाउरा प्रयोग गर्नेहरु घट्दै गएको तथ्यांक राष्ट्रिय जनगणना २०७८ ले प्रकाशित गरेको छ । देशका कुल परिवारमध्ये आधाभन्दा बढी ५१ प्रतिशतले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् ।

२०६८ सालसम्म ६४ प्रतिशतले खाना पकाउन काठ-दाउरा प्रयोग गर्दै आएका थिए । योसँगै एलपी ग्यासको प्रयोगकर्ता बढेको छ । एलपी ग्यासको प्रयोगकर्ता ४४.३ प्रतिशत छ भने ०.५ प्रतिशले बिजुलीबाट पकाउँछन् ।

यस्तै २.९ प्रतिशतले गुइठा/गोरहाबाट खाना पकाउने गरेको तथ्यांक विभागले जनाएको छ । बायोग्यास, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः १.२, ०.०५ र ०.१ रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार धेरैजसो घरपरिवारले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत रहेकोमा हाल सो संख्यामा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ ।

बत्ती बाल्न अक्सर सोलार/सौर्य ऊर्जा, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्न अक्सर मट्टीतेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर