टक्सारका धार्मिक सम्पदा जोगाउन महायज्ञ – Nepal Press

टक्सारका धार्मिक सम्पदा जोगाउन महायज्ञ

टक्सार (भोजपुर) । भोजपुरको ऐतिहासिक टक्सारमा रहेको धार्मिकस्थलको संरक्षण र सम्वर्द्धनका लागि सप्ताह ज्ञानमहायज्ञ थालिएको छ ।

टक्सार बजारमा रहेको रणेश्वर शिवालय मन्दिर स्थापनाको एक सय वर्ष पुगेको अवसर पारेर धार्मिक सम्पदा संरक्षणका लागि ज्ञानमहायज्ञ सुरू भएको आयोजक रणेश्वर महादेव गुठी व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शिव कार्कीले बताए ।

‘विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा स्थापना भएको टक्सार बजारका मठमन्दिर संरक्षणमा कुनै निकायबाट सहयोग हुन नसकेपछि ती सम्पदा जोगाउन हामीले ज्ञानमहायज्ञ थालेका हौं’, कार्कीले भने ।

स्थानीयको पलायन हुने क्रम बढेसँगै अहिले टक्सार बजार सुनसान छ । यसलाई पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले महायज्ञ गरिएको प्रचार-प्रसार समितिका संयोजक घमचन्द्र दाहालले बताए ।

यो पनि पढ्नुस् : ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै

एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।

टक्सार खानी अड्डा स्थापना गरी एकपैसे तथा दुईपैसे, डोली पैसा टकमारी गर्न सुरू गरिएको र सोही पैसा टकमारी गर्न थालिएपछि यसको नाम पनि टक्सार रहन गएको कथन पाइन्छ । टक्सारमा विद्याधरी अजिमा, भीमसेन मन्दिर, श्रीकृष्ण मन्दिर, रणेश्वर शिवालय, राधाकृष्ण, हनुमान मन्दिर, जयेश्वर महादेव, देउराली भगवती, कोट भगवती, करुणामय मन्दिर, शाक्यमुनी विहार, उत्तराभिमुख गणेशलगायतका दर्जनौं मठमन्दिर, विहार र चैत्य तथा धारा, पौवा, पाटी छन् । यी सम्पदाहरू उचित संरक्षण र सम्वर्द्धनको पर्खाइमा रहेको सामाजिक अभियन्ता गणेश प्रधानको भनाई छ ।

टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै यहाँभित्र रहेका धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको समेत आयोजना गरिएको छ । सप्ताह महायज्ञमा पण्डितद्वय सागर भट्टराई र सुदीप सुवेदीले कथावाचन गर्नुका साथै सार्वजनिक सङ्गीतमय कार्यक्रम पनि हुनेछ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर