त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित) – Nepal Press

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

अनेरास्ववियु पहिलो र नेविसंघ दोस्रो स्थानमा, १८ वटा क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन स्थगित

काठमाडौं । चैत ५ र ९ गते दुई चरणमा सम्पन्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४४ आंगिक क्याम्पसको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १८ वटामा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका अनुसार भैरहवा बहुमुखी क्याम्पसको अन्तिम मत परिणाम आएपछि ४४ आंगिक क्याम्पसको स्ववियुले पूर्णता पाएको छ । बाँकी १८ क्याम्पसमा तत्काल निर्वाचन अघि बढाउन सम्बन्धित प्रशासनलाई निर्देशन दिइएको निर्देशक पशुपति अधिकारीले बताए ।

हालसम्म मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसको स्ववियु सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो बनेको छ । त्यस्तै १८ क्याम्पसको स्ववियु सभापति जितेर नेपाली कांग्रेस निकट नेविसंघ दोस्रो बनेको छ । ४ वटा क्याम्पसको सभापति जितेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ ।

त्यस्तै जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले एउटा क्याम्पसको सभापति जितेको छ । त्रिविका आंगिक क्याम्पसको सभापतिमा अन्य पार्टीका विद्यार्थी संगठनले जीत निकाल्न सकेनन् ।

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसका स्ववियु निर्वाचनको आधिकारिक परिणाम भने विश्वविद्यालयमा नआउने उनले बताए । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौैं उपत्यकाभित्र छन् भने ४० वटा उपत्यका बाहिर छन् ।

सम्बन्धन प्राप्त र अन्य साना क्याम्पससमेत गरी नेकपा एमाले निकट अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ । नेपाली कांग्रेस निकट नेविसंघले ११४ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ ।

त्रिविका आंगिक क्याम्पसमध्ये देशकै सबभैन्दा धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ । त्यस्तै पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा सत्ता गठबन्धन आबद्ध विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ ।

उपत्यकाका ठूला क्याम्पस त्रिचन्द्र, आरआर, नेपाल कमर्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसलगायतको निर्वाचन पनि तालाबन्दीका कारण रोकिएको छ । त्रिचन्द्रबाहेक अन्य क्याम्पसमा सत्ता गठबन्धनका विद्यार्थीले तालाबन्दी गरेका छन् ।

अनेरास्ववियुले जित्ने क्याम्पसहरुमा नियतवस सत्ताको आडमा तालाबन्दी र निर्वाचन रोक्ने षड्यन्त्र भएको सो संगठनका अध्यक्ष समिक बडालको आरोप छ । तर, नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने त्रिचन्द्रमा अखिलले तालाबन्दी गरेको भन्दै आफूहरु निर्वाचनको पक्षमा रहेको बताए ।

यसपटक त्रिविका आंगिक क्याम्पसहरुको निर्वाचनमा एक दर्जन बढी विद्यार्थी संघले निर्वाचन प्रयोजनका लागि संगठन दर्ता गराएका थिए । तीमध्ये समिक बडाल नेतृत्वको अनेरास्ववियु, दुजाङ शेर्पा नेतृत्वको नेविसंघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन र बीपी साह नेतृत्वको विद्यार्थी जनमत संघ सभापति जितेर राष्ट्रिय संगठनको रुपमा स्थापित भएका छन् ।

त्रिविका आंगिक क्याम्पस कसले कहाँ जिते ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर