सत्ता गठबन्धन बैठक : मन्त्रालय भागवण्डाबारे प्रारम्भिक छलफल – Nepal Press

सत्ता गठबन्धन बैठक : मन्त्रालय भागवण्डाबारे प्रारम्भिक छलफल

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारमा प्रारम्भिक छलफल मात्रै भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लेखकले आज देशको समसायिक राजनीतिका विषयमा छलफल भएको बताए । ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘मुलतः यसकै विषयमा कुराकानी भएको छ ।’

कुन-कुन पार्टीले कति मन्त्रालय पाउने निश्चित भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा लेखकले अहिले प्रारम्भिक छलफल मात्रै भएको बाँकी कुरा विस्तारै छलफल गरिने उनले बताए । ‘आवश्यकताअनुसार अर्को बैठक बस्छ’, उनले भने ।

त्यस्तै, माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा प्रधानमन्त्रीले त्यस्तो निर्णय नभएको जानकारी गराएको लेखकले दाबी गरे ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन् । एमाले, रास्वपा र राप्रपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

 


प्रतिक्रिया

One thought on “सत्ता गठबन्धन बैठक : मन्त्रालय भागवण्डाबारे प्रारम्भिक छलफल

  1. यी अनैतिक , खेतालाहरूको यो गाईजात्रा कान फुटने गरि सुन्नुपर्छ अब एक दुई दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर