चोरीको आरोप लागेका बालक तरकारी बारीमा मृत फेला


जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरज मोची छन् । घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको एकान्त तरकारी खेत नजिकै उनको शव फेला परेको हो ।
स्थानीय पबित्तर महतोको पसलमा शुक्रवार बिहान चोरी भएको थियो । उक्त चोरी घटनामा मृत फेला परेका मोचीसहित पाँच जनाको संलग्नता रहेको आरोप लागेको थियो ।
पसलमा चोरीको आरोपमा पसल सञ्चालक महतो र गाउँपालिकाले दुई जनालाई पक्रेर वडा कार्यालयको निगरानीमा घर थुनेर हिजो राखेको थियो । थुनिएका ती दुई जनाले मोची र अन्य २ जनाको पनि चोरीमा संलग्नता रहेको बताएका थिए ।
तर मोचीसहित तीन जना फेला पर्न सकेका थिएनन् । उनीहरूलाई खोजेर चोरी गरेको विषयमा छलफल गर्न अभिभावकलाई जिम्मेवारी दिइएको थियो । अभिभावकले दुई जनालाई खोजे । मोचीलाई भने उनका अभिभावकले पनि खोज्न सकेनन् ।
राति समेत घरमा नगएका बालक मोची आज बिहान करिब ९ बजे खेतमा मृत फेला परेको बुझिएको छ ।
सिरहा प्रहरी प्रवक्ता डिएसपी रविन्द्र पाण्डेका अनुसार मृत फेला परेका बालक मोचीको बायाँ हातमा करेन्ट लागेको देखिएको छ । अनुसन्धानमा करेन्ट लागेरै उनको मृत्यु भएको देखिको छ ।
तर चोरीको आरोप लागेका बालक हिजो दिनभर सम्पर्कविहिन बनेको र आज बिहान करेन्ट लागेको अवस्थामा मृत फेला परेपछि घटना शंकास्पद देखिएको छ ।
डिएसपी पाण्डेले भने, ‘तरकारी खेतमा बदेल लगायतका जनावरले क्षति नगरोस् भनेर तारले घेरिएको छ । त्यही तारमा छाडिएको करेन्ट लागेर उनको मृत्यु भएको देखिएको छ । तर थप अनुसन्धान भइरहेको छ ।’
‘खेतमा नाङ्गो तारले घेरेर करेन्ट छाड्न मिल्दैन’, उनले भने, ‘यो विषयमा पनि बुझ्दै छु । थप अनुसन्धानपछि दोषी देखिनेहरू कानूनको दायरामा आउँछ ।’