क्लिन स्वीप नगरको ‘रिसोर्ट’ जस्तो कार्यालय – Nepal Press

क्लिन स्वीप नगरको ‘रिसोर्ट’ जस्तो कार्यालय

विराटनगर । २०७४ सालको स्थानीय तहको निर्वाचनअघि सम्म मोरङको रङ्गेली नगरपालिका परिसर पसिसक्नु थिएन । पुराना र थोत्रा भवन, साँघुरो बाटो, जताततै फोहोरको डङ्गुर रङ्गेली नगरपालिकाको देखिने चित्र यस्तै थियो ।

पान र गुट्खाका कारण राताम्मे भित्ता र भुइँ । नगरपालिका परिसरमात्रै होइन नगरपालिकाले प्रवाह गर्ने सेवाको अवस्था पनि राम्रो थिएन । कर्मचारीले दिने दु:ख भनी साध्य थिएन । तर, अहिले रङ्गेली नगरपालिका कार्यालय परिसरको मात्रै होइन कार्यालयले प्रवाह गर्ने सेवामा पनि आकाश-पातालको फरक आएको छ ।

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकाको कार्यालय परिसर अहिले सुविधा सम्पन्न रिर्सोट जस्तो देखिएको छ ।

नगरपालिकाको प्रवेशद्वारदेखि नै टायल हाल्लिएको चिल्लो सडक, दायाँ बायाँ गार्डेन । सेवाग्राही आएर बस्ने कुर्सी । कुर्सीको वरपर फूलबारी । फूलबारीको भुइँमा हरियो दुबोको चउर । चउरसँगै मार्बल बिच्छ्याएको स्थानमा पानीको फोहोरा । दैनिक रूपमा सरसफाइ । विदेशी शैलीमा बनाइएका सेवाग्राही टहलिने स्थानहरू ।

कार्यालयको सौन्दर्य करणले हिजोको फोहोर र दुर्गन्धित रङ्गेली अहिले अर्कै भएको स्थानीय बताउँछन् ।

रङ्गेली नगरपालिकाका योजना अधिकृत कृष्ण भट्टराईले डेढ करोडको लागतमा नगरपालिकाको परिसर हेरौं हेरौं लाग्ने बनाइएको बताए ।

उनले ७९ सालको निर्वाचनपछि नगरपालिकाको रूप फेरिएको बताए । भट्टराईका अनुसार सेवाग्राही नगरपालिकामा सेवा लिन आउँदा दिक्क भएर नगई खुशी भएर जाउन् भन्ने उद्देश्यले नगरपालिका परिसरको सौन्दर्यीकरण गरिएको हो । स्थानीय तहको पहिलो निर्वाचन भएपछि नै सौन्दर्यकरणको योजना बनेको थियो ।

उनले भने,‘राजनीतिक खिचातानीका कारण काम अगाडि बढ्न नसकेपछि यस पटक कामले पूर्णता पाएको हो ।’

पालिका परिसरमा ड्रेनको व्यवस्थासहित सेन्सर सिस्टम भएको बत्ती जडान गरिएको छ ।

‘यसले नगरपालिका परिसर थप सुन्दर देखिन्छ । साँझ परेपछि आफैं बल्छ, उज्यालो भएपछि आफैँ निभ्छ । दीर्घकालीन सोच राखेरै काम गरिएको हो’, भट्टराईले भने ।

नगरपालिका पसिरमा मात्रै होइन नगरले भौतिक पूर्वाधारका हिसाबले काँचुली फेरेको छ । रङ्गेलीमा रहेका साँघुरा बाटोहरू भत्काएर फराकिलो सडक बनाइएको छ ।

हुलाकी राजमार्गमा पर्ने रङ्गेली नगरपालिका क्षेत्रभित्र पर्ने हुलाकी मार्गको निर्माण सम्पन्न भइसकेको छ । मोरङ अन्य कुनै पनि पालिकामा हुलाकी मार्गको काम सम्पन्न भएको छैन ।

क्लिन स्वीपपछिको परिवर्तन

विक्रम सम्वत् १९७१ साल सम्म रङ्गेली मोरङको सदरमुकाम थियो । रङ्गेली त्यो बेला सदरमुकाममात्रै थिएन यस क्षेत्रको व्यापारिक केन्द्र पनि हो ।

भारतसँगको सीमानजिक रङ्गेलीमा धान चामलको व्यापार हुन्थ्यो । दैनिक उपभोग्य सामाग्री खरिदबिक्री गर्न सर्वसाधारण जान्थे । लुगाफाटा किन्ने केन्द्र पनि रङ्गेली नै थियो ।

कृष्णप्रसाद कोइराला, सुब्बा गुँजमान, डिठ्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालिदास, सुबेदार अनन्तराम अग्रवाललगायतको पहलमा १९७२ सालमा रङ्गेलीबाट विराटनगर सदरमुकाम सारिएपछि यो सहर ओझेलमा परेको स्थानीय बताउँछन् । पूर्वपश्चिम सडक मोरङको बीच भागबाट बनाएपछि रङ्गेली थप ओझेलमा परेको थियो ।

७४ को स्थानीय तहको निर्वाचनमा व्यापारी पृष्ठभूमिका दिलिपकुमार अग्रवाल (बगेडिया) ले मेयर जिते । त्यो बेला रङ्गेली को कार्यपालिका बैठक र नगर सभा दुवैमा बगेडियाको बहुमत थिएन । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भई मेयर जितेका बगेडियालाई योजना कार्यान्वयन गर्न चुनौती थियो । १० वटा वडा रहेको रङ्गेलीमा ३ वटा वडाको वडाध्यक्ष उनीनिकट पार्टीले जितेको थियो ।

४ वटा वडाको वडाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो भने २ वटा वडा जनता समाजवादी फोरम र एउटा वडा भने एमालेले जितेको थियो । बहुमत नहुँदा पनि उनले सडक विस्तार र पूर्वाधार विकासमा धेरै काम गरे । घर भत्काउन नमान्ने स्थानीयलाई मनाउँदै उनले फराकिलो सडक बनाए ।

रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, इच्छाशक्तिका कारण रङ्गेली को मुहार फेरिएको बताउँछन् ।

नागरिकलाई भौतिक पूर्वाधार आवश्यक थियो । अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार विस्तार र निर्माणको काम सम्पन्न भएकाले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा नगरपालिका लागेको बताए ।
रङ्गेलीमा रहेको जिल्ला अस्पतालको सेवा प्रवाह र भौतिक पूर्वाधार विस्तारमा नमूना काम भइरहेको छ ।

उनले भने, ‘यस पटक हामी स्वास्थ्य क्षेत्रको देखिने गरी विकास र विस्तार गर्नेछौं ।’

गत वैशाख ३० को चुनावको केही महिनाअघि बगेडिया एमाले प्रवेश गरे । मेयरमा उठेका बगेडियाले यस पटक भने निर्वाचनको परिणाम आफ्नो पक्षमा मात्रै पारेनन् ५२ जना जनप्रतिनिधि मध्ये ५१ जना जनप्रतिनिधि एमालेका जिताए ।

१० वटा वडा रहेको रङ्गेलीमा एकजना महिला सदस्यमात्रै जनता समाजवादी पार्टीले जितेको छ । मेयर उप मेयर, सबै वडाध्यक्षसहित ५१ जना जनप्रतिनिधि जितेपछि काम गनै सहज भएको उपमेयर भुमा पराजुली बताउँछिन् ।

उनले भनिन्, ‘हामीमा अहिले कुनै विवाद छैन । थोरै थोरै बजेट छरेर काम गर्ने भन्दा एकमुष्ट काम गर्ने गरी अघि बढ्दा देखिने गरी विकास भएको छ ।’

३ वर्षमा कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य र योजनाका साथ ५६ करोडको ठेक्का लागेको छ । उनले भनिन् २० किलोमिटर सडक बन्दा रङ्गेली मा कच्ची सडक न्यूनमात्रै हुन्छ ।

ठेकेदार र कर्मचारी तह लाउने व्यापारी वुद्धि

स्थानीय तहले शिक्षा शाखा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड वितरण गर्छ । पालिकाले बाँडेका सेनिटरी प्याड गुणस्तरीय नभएको भन्दै जनप्रतिनीधिहरूले हप्की खाइरहनुपरेको छ ।

बजारमा पाइने सेनिटरी प्याडको मूल्य ७० देखि ९० को हाराहारी पर्छ । त्यसमाथि गुणस्तरीय नभएको भनेर जनप्रतिनिधिहरूको आलोचना भइरहेको छ ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाले यस वर्षका लागि आवश्यक पर्ने सेनिटरी प्याड खरिद गर्न सकिरहेको छैन ।

मिक्लाजुङ्ग गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रति प्याकेट १ सय रुपैयाँमा सेनिटरी प्याड किन्न ठिक्क पारेको थाहा पाएपछि केही दिन अघि ठेक्का सम्झौता रोकेका छन् । उनले गुणस्तरीय पनि नभएको र महँगो पनि भएका कारण खरिद प्रक्रिया रोकेको बताए ।

तर, रङ्गेली नगरपालिकाले भने त्यही सेनिटरी प्याड ४८ रुपैयाँ प्रतिप्याकेट खरिद गरेको छ । नगरपालिका आफैँले ल्याबमा परीक्षण गरी गुणस्तरीय भएको सर्टीफाई भएपछि मात्रै सेनिटरी प्याड खरिद गरेको छ ।

रङ्गेलीका मेयर दिलिप अग्रवाल व्यापारी वुद्धीले यो काम सम्भव भएको बताए ।

‘मैले ५ वर्ष पढेँ, ठेकेदार र व्यापारीका समस्या पत्ता लगाएपछि मलाई काम गर्न सहज भयो । मैले ऐन कानून र नीति नियममात्रै पढिनँ, व्यापारी साथीभाइहसँग समेत सहयोग लिए । नगरपालिकाले औषधि खरिद गर्नुपर्छ । हामी बोनससमेत लिन्छौ । अरू पालिकाले औषधिमा ५० देखि ६० लाख रूपैयाँ खर्च गर्छन् हामी १६ लाखको औषधिले पुर्‍याउँछौं ।’

मैले मात्रै गरेर ५ वर्षमा नगरको रूप फेरिएको होइन । अग्रवालका अनुसार कर्मचारीको सहयोगले परिवर्तन सम्भव भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर