‘नेताहरुमा ज्यादा सुविधाभोगी चिन्तन देखापर्‍यो, यसमा कर्णालीको टिप्पणी छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘नेताहरुमा ज्यादा सुविधाभोगी चिन्तन देखापर्‍यो, यसमा कर्णालीको टिप्पणी छ’ (भिडिओ)

नेकपा एमाले सचिव योगेश भट्टराई भन्छन्- कर्णाली सुनको अण्डा पार्ने कुखुरा जस्तै हो अरु प्रदेशभन्दा अगाडि जानसक्छ

सुर्खेत । नेकपा एमालेले फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण भएको थियो । नेकपा एमालेका सचिव योगेश भट्टराई कर्णालीका ७ जिल्लामा पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान सम्पन्न गरेर बुधबार काठमाडौं फर्केका छन् । पार्टी र जनताको सम्बन्ध ताजा गर्न एमालेले गरेको अभियानका क्रममा भोगेका र अनुभव गरेका विषयमा केन्द्रित रहेर एमाले सचिव योगेश भट्टराईसँग नेपाल प्रेसकर्मी अप्सरा विष्टले गरेको कुराकानी :

– कर्णालीमा पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान कस्तो रह्यो ?

कर्णालीका सात वटा जिल्ला पुगिसकेको छु । अब तीनवटा जिल्ला बाँकी छन् । हुम्ला, मुगु र डोल्पा बाँकी रहे । त्यहाँ चैतको दोस्रो र तेस्रो हप्तापछि कार्यक्रम हुन्छ । यो बैशाख ९ गतेसम्मको अभियान हो । कर्णालीमा ७९ वटा स्थानीय तहमा केन्द्रीय प्रतिनिधि ४१ जना परिचालित हुनुभएको छ । उहाँहरु आ-आफ्नो कार्यक्षेत्रमा पुगिसक्नुभएको छ ।

केही हिमाली जिल्लामा मौसम प्रतिकूल रहेको छ । त्यहाँ अहिले हिउँ परिरहेको छ । केही पालिकाहरुमा चैतको दोस्रो र तेस्रो हप्ताबाट सुरु गर्छौं । अरु सबै पालिकामा पुगिसक्नु भएको छ । जिल्लाका अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् । सदस्य नवीकरण, सदस्य विस्तार, शिक्षक, बुद्धिजीवीलाई सुझाव दिने र लिने समुदायसँग भेट्ने, ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्नेलगायतका कार्यक्रम अगाडि बढेका छन् ।

– यो अभियानले कर्णालीमा कस्तो प्रभाव पर्ने देख्नुभयो ?

कर्णालीमा हाम्रो पार्टी समानुपातिक मतमा पहिलो हो । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८३ हजार मत पाएका छौं । अहिलेको अभियानको उद्देश्य के छ भने अर्काे निर्वाचन २०८४ सालमा हुन्छ । त्यो ठाउँमा पुग्दा साढे २ लाख भोट प्राप्त गर्ने र त्यस निम्ति हरेक पालिकाले मतदाता बढाउनुपर्छ । त्यो तार्गेट हामीले दिएका छौं । यसले कर्णाली प्रदेशमा नेकपा एमालेलाई थप सुदृढ गर्छ, थप व्यवस्थित गर्छ । पार्टीभित्र ठाउँ-ठाउँमा केही असहमति र अन्तरविरोधहरु छन् । त्यसलाई हल गर्छ र पार्टीलाई अझै सुदृढीकरण र एकताबद्ध बनाउँछ ।

यसले कर्णाली प्रदेशमा नेकपा एमालेलाई थप सुदृढ गर्छ, थप व्यवस्थित गर्छ । पार्टीभित्र ठाउँ-ठाउँमा केही असहमति र अन्तरविरोधहरु छन् । त्यसलाई हल गर्छ र पार्टीलाई अझै सुदृढीकरण र एकताबद्ध बनाउँछ ।

– कर्णालीका दुर्गम ठाउँका व्यक्तिहरुबाट कस्ता खालका गुनासा आए ?

नेकपा एमाले पार्टीलाई मतदान गर्ने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु । यति विकट ठाउँमा, यति असुविधा भएका ठाउँमा शिक्षाको चेतनाको हिसाबले पछाडि परेको ठाउँमा, आर्थिक सम्पन्नताको हिसाबले पछाडि परेको ठाउँमा, बेरोजगारी, अशिक्षा, पछौटेपन भएका ठाउँमा पनि पार्टीहरुप्रतिको लगाव र उच्च सम्मान छ । त्यो देखेर मलाई धेरै खुशी लाग्यो । सुविधा सम्पन्न काठमाडौं जस्ता शहरमा बसेर पार्टीभित्र अन्तरविरोध हुने कार्य गर्ने प्रवृत्ति देखिन्छ ।

तर, कर्णालीका गाउँ-गाउँमा नेकपा एमाले भनेर काम गरिरहनु भएको छ । उहाँहरुले पाउने त ठूलो कुरा केही पनि छैन । राजनीतिक नियुक्ति पनि त्यति धेरै पाउनुभएको छैन । तर पनि आफ्नो पार्टीको मायाले जसरी छाक काटेर पार्टीको सदस्यता नवीकरण गर्नुहुन्छ । पार्टीका कार्यक्रममा जाँदा ५-६ दिनकाे खाजा-चामल बोकेर जानु भएको छ । यसले वास्तवमा अरु प्रदेशमा सुविधा सम्पन्न ठाउँमा बसेका मान्छेहरुको लागि प्रेरणा हुन्छ भन्ने मलाई लाग्छ ।

नेताहरुले पार्टी अझै राम्रो बनाउनुपर्‍यो, नेताहरुबीचमा एकता हुनुपर्‍यो, पार्टीभित्र सुदृढ ढङ्गले अगाडि बढ्नुपर्‍यो भन्ने नेताहरुलाई सुझाव दिनुभएको छ । पार्टी अलिकति सुविधाभोगी भयो, नेताहरुमा सांस्कृतिक हिसाबले खानपिन, उठबसमा अलि ज्यादा सुविधाभोगी चिन्तन देखापर्‍यो । त्यसमा पार्टीप्रति उहाँहरुको टिप्पणी छ । कर्णालीलाई राज्य र पार्टीको जिम्मेवारीमा प्राथमिकता दिनुपर्‍यो भन्ने छ । कर्णालीका साथीहरुको एकमतको आवाज के छ भने नेकपा एमाले केन्द्रीय पदाधिकारीमा कर्णालीबाट पनि प्रतिनिधित्व हुनुपर्‍यो । संघीय सरकार बनाउँदा मन्त्रीहरु कर्णालीबाट पनि प्राथमिकताका साथ राख्दिनुपर्‍यो । राजनीतिक नियुक्तिमा कर्णालीलाई प्राथमिकता दिनुपर्‍यो भन्ने सुझाव छ । त्यो सुझावलाई मैले पार्टीको केन्द्रसम्म पुर्‍याउँछु र पार्टी अध्यक्षलाई पनि त्यो जानकारी दिन्छु ।

नेताहरुमा सांस्कृतिक हिसाबले खानपिन, उठबसमा अलि ज्यादा सुविधाभोगी चिन्तन देखापर्‍यो । त्यसमा पार्टीप्रति उहाँहरुको टिप्पणी छ । कर्णालीलाई राज्य र पार्टीको जिम्मेवारीमा प्राथमिकता दिनुपर्‍यो भन्ने छ ।

– केन्द्रबाट हेरिने कर्णालीमा तपाई स्वयं पुग्नु भएको छ ? अब कर्णालीलाई के गर्छाैं भन्ने लागेको छ ?

कर्णालीका सबै जिल्लामा पहिला पनि पुगेको थिएँ । तर, अहिले यस अभियानले गर्दा गाउँ-गाउँमा पनि पुग्न पाएँ । मानव विकास सूचकाङ्कमा कर्णाली अरु प्रदेशभन्दा पछाडि छ । मातृ मृत्युदर र बाल मृत्युदर धेरै छ । कुपोषण, होचा पुड्कोपन र पौष्टिक आहार कमी छ । विद्यार्थीहरुले विद्यालयमा गुणस्तरीय शिक्षा पाएका छैनन् । साक्षरतादर कम छ । रोजगारी छैन । उद्योगधन्दा कम छन् ।

राज्यको तहबाट पुग्नुपर्ने सेवा सुविधा पुगेका छैनन् । गाउँ-गाउँमा अहिले पनि बिजुली छैन । टुकी बालेर बस्नुपर्ने अवस्था छ । उद्योगधन्धा चलेका छैनन् । कर्णाली प्रदेशमा दलित जनसंख्या ठूलो छ । ३० प्रतिशत दलित समुदाय भएको ठाउँ हो । प्राकृतिक स्रोतसाधनका हिसाबले कर्णाली अपार सम्भावना भएको ठाउँ हो । तर, राज्यको तर्फबाट जति ध्यानु दिनुपर्ने हो त्यति दिन सकेको छैन । ठूला जलविद्युत आयोजना कर्णालीमा ल्याउनुपर्छ ।

पर्यटनका हिसाबले भर्जिन ल्याड कर्णालीमा छन् । पर्यटकीय हिसाबले यसलाई विकास गर्नुपर्नेछ । प्रायः सबै जिल्लामा विमानस्थल छन् । त्यसलाई अझै सुचारु गर्नुपर्नेछ । सुर्खेतको एयरपोर्टलाई विस्तार गर्नुपर्नेछ । पर्यटकीय गन्तव्यका रुपमा यसलाई विकास गर्न सकिन्छ । धार्मिक र सांस्कृतिक क्षेत्रहरुका हिसाबले कर्णाली धनी छ ।

अन्य प्रदेशको भन्दा कर्णालीको संस्कृति युनिक छ । यहाँको भाषा, गायन, नृत्य, जन्मिँदा र मर्दा मनाउने तरिकाहरु भिन्नाभिन्नै छ । राज्यको माथिल्लो तहबाट ध्यान दिन सकियो भने अरु प्रदेशभन्दा कर्णाली अगाडि जानसक्छ । कर्णाली सुनको अण्डा पार्ने कुखुरा जस्तै हो । राज्यले बुझेको छैन । हामीले बुझ्न सकेका छैनौं । योजनाविद्ले बुझ्न सकेका छैनन् । कर्णाली प्राथमिकतामा पर्न सकेको छैन ।

यस अभियानबाट मैले अझै ज्यादा बुझे कर्णालीलाई । म प्रतिनिधिसभा सदस्य भएको नाताले नीति निर्माण गर्ने ठाउँमा मेरो तर्फबाट कति ध्यानाकर्षण गर्न सक्छु, म कोसिस गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर