जनमोर्चा अध्यक्ष केसीको आरोप : हिन्दूराज्य कायम राख्न भारतको आडमा राजावादी सक्रिय – Nepal Press

जनमोर्चा अध्यक्ष केसीको आरोप : हिन्दूराज्य कायम राख्न भारतको आडमा राजावादी सक्रिय

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा हिन्दूराज्य कायम गर्न भारतको आडमा राजावादीहरू सक्रिय भएको र यसमा एमाले अध्यक्ष केपी ओलीले डिजाइन गरेको आरोप लगाएका छन् ।

गणतन्त्र सिद्ध्याउन दरबारिया र राजावादीहरू सडकमा आएको बताउँदै उनले विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र विरोधीहरू चलखेल बढेकाले सजग हुन पार्टी कार्यकर्तालाई आव्हान गरेका छन् ।

शनिवारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प नभएको बताएका छन् ।

नेपालको राष्ट्रियता र अखण्डताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दाबी गर्दै उनले भने– राष्ट्रियताको पक्षमा संघर्षहीन सम्झौताबाट राष्ट्रिय भाग्दैन ।

उनले द्वन्द्वकालीन समयमा जघन्य अपराध गर्नेलाई कारबाही गर्नुपर्ने बताउँदै आयोग बनाएर द्वन्द्वकालमा जघन्य अपराध गर्नेलाई कारबाही गरी निर्दोषलाई न्याय दिनुपर्ने बताए ।

द्वन्द्वकालीन मुद्दामा प्रचण्ड मात्रै दोषी नभएको उल्लेख गर्दै राज्य र अन्य पक्ष पनि दोषी रहेको चित्रबहादुर केसीको भनाइ छ ।

नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको उल्लेख गर्दै नेपालमाथि भारतले जनसंख्या र भौगोलिक रूपमा आक्रमण गरिरहेको दाबी गरे ।

भारतले निरन्तर रूपमा नेपालमाथि आक्रमण गर्दै आएको र पछिल्ला केही वर्षयता अमेरिका एमसीसी परियोजनाको माध्यमबाट चीनविरुद्व गतिविधि गर्नका लागि नेपालको भूमि प्रयोग गर्न नेपालको राजनीतिमाथि सक्रिय बनेको अध्यक्ष केसीको दाबी छ ।

उनले संघीयतालाई हतियार बनाएर शक्ति केन्द्र राष्ट्रहरूले नेपालमा चलखेल बढाएको दाबी गर्दै नेपालको हकमा संघीयता असफल भैसकेको दाबी गरे ।

हिजो संघीयता बोक्नेहरू आज संघीयताको विरोध गर्न थालेकाले नेपालमा संघीयताविरुद्व ठूलो जनमत तयार भएको बताए ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र युरोपियन शक्ति केन्द्रको आडमा देशीय सामन्तवादी शक्ति गणतन्त्रका विरुद्ध सक्रिय भएको बताए । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर