सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार – Nepal Press

सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार

कैलाली । सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको आज एक महिना भएको छ ।

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले भने २१ फागुमा दुई तिहाइ बढी विश्वासको मत पाए ।

माओवादी, कांग्रेस नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रको गरी ४१ मत पाएका शाहले एक महिनाअघि शाहसँगै कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाही मन्त्रीमा नियुक्त भएका थिए । देउवाले भौतिक मन्त्रालय तथा शाहीले अर्थ मन्त्रालयको जिम्मा पाएका थिए ।

नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले पनि शाह सरकारलाई विश्वासको मत दिएका कारण अब सरकारमा यी दुवै पार्टीलाई पनि ल्याउने तयारी भइरहेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता कारण ५ गतेपछि मात्रै सरकार विस्तारको तयारी गरिएको हो । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो नलागे पनि माओवादी अर्थ मन्त्रालयसहित एक मन्त्रालय र नागरिक उन्मुक्तिले सामाजिक र कृषि मन्त्रालय मध्ये एक र अर्का एक मन्त्रालय पाउने विषयमा आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

तर, माओवादी र नागरिक उन्मुक्तिबाट को-को मन्त्री बन्ने भन्ने विषयमा अझै सहमति भने हुन सकेको छैन ।

‘सरकार विस्तार ५ गते लगत्तै हुने कुरामा छलफल भएको छ । तर, मन्त्रीका बिषयमा छलफल भएको छैन’ माओवादीका एक नेताले भने ‘यो केन्द्रबाट टुङ्गिन सक्छ ।’

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले सबै सांसद काठमाडौंमै छन् ।उनीहरूले मन्त्रीको लबिङ पनि गरिरहेका छन् । माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री पाउने करिब पक्का जस्तै भएका कारण सबै नेताहरू दौडधुप गरिरहेका छन् ।

माओवादीमा संसदीय दलका नेता खगराज भट्ट, सांसद ओम विक्रम भाट सरल, शिव ओली, झपट साउद र रमेश धामी मध्येबाट मन्त्री राज्यमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । संसदीय दलका नेता भट्ट यस अघि एमाले सरकारमा पनि विना विभागीय मन्त्री भइसकेका छन् । एक महिनामा विभागीय जिम्मा समेत नपाएर बहिर्गमित भएका भट्टलाई फेरि मन्त्री बनाउन नहुने भन्दै पार्टीभित्रै दबाब छ ।

यता नागरिक उन्मुक्तिबाट संसदीय दलका नेता रामेश्वर चौधरी, प्रमुख सचेतक लक्ष्मण चौधरी र कैलाश चौधरी मन्त्री मध्येबाटै मन्त्री बन्ने सम्भावना बढी रहेको बताइन्छ । मन्त्रिपरिषद्मा महिला समेट्न नागरिक उन्मुक्तिबाटै टीका थापा पनि मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

ठूलो दल कांग्रेसले मुख्यमन्त्री एक मन्त्रालय र थप एक राज्यमन्त्रीमा मात्रै चित्त बुझाउनु पर्ने अवस्था आउन सक्ने चर्चा गर्न थालिएको छ । त्यसबाहेक नागरिक उन्मुक्तिका २ र माओवादीका २ मन्त्री र २ राज्यमन्त्री ५ गतेपछि थप हुने छन् ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार

  1. संघियताको ठेकेदार नै मै हो भन्ने एउटा ठेकेदारले उसको पार्टीले सुदुरपश्चिममा प्याकेजमा सहमति नभई विश्वासको मत नदिन गरेको निर्णयलाई लात हानेर, तानाशाही शैलीमा खुरूक्क मत हाल भन्यो । अब पनि संघीयताको ठेकेदार मै हुँ भन्न लाज छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर