छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग – Nepal Press

छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग

सशक्त आन्दोलन गर्ने संयुक्त दलित मोर्चाको चेतावनी

जनकपुरधाम । संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ ।

मोर्चाले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ’, मोर्चाका सचिव रविनकुमार महराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौं ।’

भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंद, जिल्लाका प्रमुख प्रशासकहरु जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सहभागिताले झन जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।

याे पनि पढ्नुस् : गाउँपालिका अध्यक्षको ‘शुध्याइँ भोज’, जातैपिच्छे छुट्टाछुट्टै मेस

दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।

नेकपा एमालेका जिल्ला सचिवसमेत रहेका गाउँपालिका अध्यक्ष यादवले आफ्नी आमाको १३औं पुण्यतिथिको दिन आयोजना गरेको भोजमा दलित, मुस्लिम र गैरदलित समुदायलाई प्लेकार्ड र फ्लेक्स बोर्ड नै टाँसेर अलग-अलग ठाउँमा भोज खुवाएका थिए ।

उनको यो कदमको व्यापक विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *