गाउँपालिका अध्यक्षको ‘शुध्याइँ भोज’, जातैपिच्छे छुट्टाछुट्टै मेस – Nepal Press

गाउँपालिका अध्यक्षको ‘शुध्याइँ भोज’, जातैपिच्छे छुट्टाछुट्टै मेस

गापा अध्यक्ष यादव भन्छन्- मैले एकै ठाउँमा खुवाउने प्रस्ताव गरेको थिएँ तर, जाति अगुवाहरुले समुदायका आधारमा खुवाउनुपर्छ भने

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३औं पुण्य तिथिको दिन आयोजना गरेको भोजमा दलित, मुस्लिम र गैरदलित समुदायलाई प्लेकार्ड र फ्लेक्स बोर्ड नै टाँसेर अलग-अलग ठाउँमा भोज खुवाएका छन् । गाउँपालिका अध्यक्ष यादवले जाति र सम्प्रदायअनुसार छुट्टाछुट्टै राखेर भोजमा छुवाछूतलाई प्रश्रय दिएका हुन् ।

पासवान, राम, खत्बेखङ्ग, साफी, रजक, सदाय, दास तत्मा, विश्वकर्मा समुदायलाई पालिका अध्यक्षको निवासको दक्षिणपट्टि र मुस्लिम समुदायलाई घरको पूर्वपट्टि भोज खाने व्यवस्था गरिएको थियो ।

Exif_JPEG_420

भोजमा सिरहाका जनप्रतिनिधि तथा प्रदेशसभा सांसदहरु, मधेस प्रदेशका बहालवाला मन्त्री , पूर्वमन्त्री, सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्लाका उच्चपदस्थ कर्मचारीहरु सहभागी भएका थिए । त्यस्तै निवर्तमान सांसद, नेकपा एमालेका केन्द्रीय सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसँगै सिरहाका विभिन्न पालिका प्रमुख, उपप्रमुख, पूर्वप्रमुख र उपप्रमुख तथा गाँउका अगुवालाई निवास प्राङ्गणमा कुर्सी टेबलको व्यवस्था गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष यादवले सबै समुदायका नागरिकलाई निम्ता दिएका थिए । तर, भोज खानेवेलामा जात तथा समुदायअनुसार अलग-अलग ठाउँको व्यवस्था मिलाएपछि दलित समुदायमाथि अपमान र छुवाछूतलाई प्रश्रय दिएको टिप्पणी गरिएको छ ।

वर्गीय तथा जातिगत विभेद अन्त्य गरी समाजवादउन्मुख नेपाली समाज निर्माण गर्ने भाषण दिने एमाले नेताहरुको व्यवहार भने कानूनी रुपमा दण्डनीय हुने छुवाछूतको धङधङीले नछोडेको देखिन्छ ।

कानून बनाउने माननीय र कार्यान्वयन गराउने सीडीओले नै खाए छुवाछूत गरेको भोज

भोजमा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, पूर्वकानूनमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सिरहा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठ, एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादव, एमाले केन्द्रीय सदस्य एवं सिरहाका समानुपातिक प्रतिनिधिसभा सदस्यद्वय गंगा यादव र सम्झना थपलिया सहभागी भएका थिए ।

त्यस्तै सिरहा क्षेत्र नम्बर १ (१) र १ (२) का प्रदेशसभा सदस्यद्वय राजेन्द्रप्रसाद चौधरी र राजु गुप्ता, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डललगायतले अरुलाई धूलाम्मे खेतमा खुवाउँदा उनीहरुले कुर्सी टेबलमा बसेर भोज खाए ।

जातीय भेदभाव तथा छुवाछूत भएको प्रस्टै देखिने गरी ब्यानर तथा प्ले कार्ड राख्दा पनि कसैले प्रश्न गरेनन् । भोज खाए, दाँत कोट्याए । गए ।

अधिकारकर्मी के भन्छन् ?

दलित अधिकारकर्मी तथा डोम उत्थान समिति सिरहाका अध्यक्ष रामचन्द्र मरिक गाउँपालिकाका अध्यक्ष जस्तो व्यक्तिबाट दलित समुदायमाथि गरिएको व्यवहार निन्दनीय भएको बताउँछन् । भेदभाव र विभेदपूर्ण व्यवहारले दलित भोट चल्ने तर दलित समुदायले छोएको नेताहरुलाई नचल्ने कुरा प्रष्ट्याएको उनको भनाइ छ ।

‘जनप्रतिनिधिबाटै यस्ता व्यवहार हुँदा समाजका अरुले के गर्छन् भन्ने प्रस्ट भएको छ’, उनले भने, ‘यस्तो कानूनविपरीत काम गर्ने जोकोहीलाई पनि कारबाही हुनुपर्छ ।’

दलित अभियन्ता दीपेन्द्र पासवान कानून निर्माण गर्ने माननीयहरु, कानूनको कार्यान्वयन गर्ने अर्ध-न्यायिक निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसमेतले भेदभावयुक्त भोज खाएर दलित समुदायमाथि खिल्ली उडाएको आरोप लगाउँछन् ।

दलित समुदायमाथि विभेद र छुवाछूत गर्दासमेत माननीयहरु, प्रमुख जिल्ला अधिकारीले समेत प्रश्न नगर्नु सामान्य घटना हुनै नसक्ने उनको भनाइ छ ।

स्थानीय दलित युवाहरु भने दलित समुदायले यस्ता भोज बहिस्कार गर्नुपर्ने बताउँछन् । निम्तो दिएर अपमान गर्ने हो भने दलित समुदाय यस्ताखाले भोजमा सामेल हुनै नहुने उनीहरु बताउँछन् ।

छुवाछुत तथा कसुर सजाय ऐनमा के छ ?

जातीय छुवाछूत तथा कसुर सजाय ऐनको दफा १६६ को उपदफा १ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभाव गर्न नहुने व्यवस्था छ । कसैले कसैलाई प्रथा, परम्परा, धर्म-संस्कृति, रीतिरिवाज, जातजाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछूत वा अन्य कुनै किसिमको भेदभाव गर्न नहुने व्यवस्था छ ।

सार्वजनिक स्थलमा उपस्थित हुन वा सार्वजनिक धार्मिक स्थलमा प्रवेश गर्न, सार्वजनिक प्रयोगमा रहेको पानी, धारापधेंरा प्रयोग गर्न बञ्चित गर्न नहुने, निजी वा सार्वजनिक उपयोगका सुविधा प्रयोग गर्न वञ्चित गर्न नहुने भनिएको छ ।

उपदफा १ बमोजिमको कसुर गराउने वा गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय वा तीस हजार रुपैयाँ जरिवाना या दुवै सजाय हुने व्यवस्था छ । राष्ट्रसेवकबाट यस्तो कसुर गरिएको भए थप तीन महिना जेल सजाय हुने कानूनमा व्यवस्था छ ।

म सबै जातजातिको घरमा गएर खान्छु, छुवाछुत गरेको होइन : अध्यक्ष

गाउँपालिका अध्यक्ष यादव भने आफूले जातीय छुवाछूत गर्ने नियतले नगरेको बरु समाजमा बस्ने सबै जाति र समुदायलाई राखेर एकै ठाउँमा राखेर भोज खुवाएको बताए ।

‘म सबै जातजातिको घरमा गएर खान्छु । भोजमा पनि दलित तथा मुस्लिम समुदायमा गएर खान्छु । मेरोमा पनि आएर खानुहुन्छ’, उनले भने, ‘यस्तो विभेद गरेको छैन । त्यो कुरा उहाँहरुले पनि भन्नुहुन्छ । तपाईंहरु सोध्नुहोस् । म सँगै बसेर खान्छु ।’

आमाको पुण्यतिथिको भोज भएकाले आफूले भोजको केही दिन अगाडि सबै जातिका मान्यजनसँग छलफल गरेको अध्यक्ष यादवले बताए । ‘छलफलमा मैले सबैलाई एकै ठाउँमा राखेर भोज खुवाउने प्रस्ताव गरें । दलित समुदायका मान्यजनहरु पनि त्यसमा सहभागी थिए’, उनले थपे, ‘तर, जाति अगुवा मान्यजनहरुले सबैले जाति समुदायका आधारमा राखेर खुवाउनु पर्छ भन्ने निर्णय गर्‍यो । सबैलाई मिलाएर लैजानुपर्ने भएकाले यस्तो भएको हो ।’

तर, भोजस्थलमा प्लेकार्ड फ्लेक्स लगाएको आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

प्रसिद्ध मैथिली गीत छ–
हमरे डाला पनपतियासे देवतो पितर पुजाईछै
कहुन बाबु तहियो हमरा देही किया छुवाईछै

देव अथवा पितृ कार्यमा ती नै दलित समुदायले बनाएका सामान, पानको पत्ता चढाइन्छ । तर, दलित समुदायको शरीर किन छोइन्छ । देशको संविधानमा छुवाछूतमुक्त राष्ट्र भनिएको छ । २०६३ जेठ २१ मै नेपाललाई ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरिएको भए पनि दलित समुदायका नागरिकले भोग्नुपरेको छुवाछुतलाई अन्त्य गर्न कानूनको कार्यान्वयन हुनुपर्छ । कानूनविपरीत काम गर्नेलाई कारबाही भएमात्रै दलित समुदायले न्याय पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *