विश्व मृगौला दिवसमा रुपन्देहीमा जनचेतना र्‍याली – Nepal Press

विश्व मृगौला दिवसमा रुपन्देहीमा जनचेतना र्‍याली

रुपन्देही । बुटवलमा मृगौलाबारे जानकारी दिन स्वास्थ्य तथा सामाजिक संघसंस्थाहरुले जनचेतना र्‍याली गरेका छन् ।

‘स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ बिहीबार विश्व मृगौला दिवसमा सचेतना र्‍यालीको गरिएको हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाइमा भएको र्‍यालीमा रुपन्देहीस्थित रोटरी क्लब, रोट्र्‍याक्ट क्लब, रुपन्देही उद्योग संघलगायतको सहभागिता रहेको थियो ।

र्‍यालीका सहभागीहरुले ‘दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने गरौं’, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’, ‘नियमित व्यायाम गर्ने बानीको विकास गरौं’, ‘खानामा नूनको मात्रा कम गरौं’, ‘मद्यपान जहरपान’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बुटवलको योगीकुटीबाट सुरु गरिएको जनचेतना र्‍याली रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अस्पतालका अध्यक्ष एजाज आलमले खानपिन र आनीबानीमा सुधार गर्नसके मृगौला रोगबाट बच्न सकिने भन्दै समाजलाई मृगौला रोगबारे सचेतना जगाउन र्‍याली गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले खानपान र व्यायाममा सन्तुलन कायम गर्नसके मृगौलालाई स्वस्थ राख्न सकिने बताइन् ।

सभामा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष टंक अधिकारीलगायतले मृगौला रोगको शीघ्र पहिचान र त्यसको समयमै निदान नै मृगौला स्वस्थ राख्ने मुख्य उपाय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर