समीक्षा नेतृत्वको पुनर्जीवित साझा विवेकशीलसँगको शंका र विश्वास – Nepal Press

समीक्षा नेतृत्वको पुनर्जीवित साझा विवेकशीलसँगको शंका र विश्वास

साझा विवेकशील दलले आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्‍यो । २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको पार्टीले गोविन्द केसीको सत्याग्रहलाई आफ्नो आधारभूमि निर्माण गरेर विभिन्न सामाजिक मुद्दालाई उठाउँदै आफूलाई परिचित गरायो । २०७२ सालको महाभूकम्पमा यो दलले आफ्नो सक्रियता र व्यवस्थापकीय भूमिका देखिने गरी काठमाडौंमा खेल्यो । एउटा सानो समूह राजनीतिक अभियानको रूपमा पनि देखापर्‍यो । आजसम्म तीन वटा संसदीय चुनावमा लड्यो । रवीन्द्र मिश्रको विचारभन्दा माथि देश भन्ने अवधारणा सार्वजनिक भएपछि बेस्सरी भत्किएको दल २०७९ सालको संसदीय चुनाव भने एकल रूपमा यसका पूर्वसदस्यले लडे ।

तर, कतै पनि गणितीय उपस्थिति उल्लेख गर्न लायक भएन । छिन्नभिन्नको एक दशकपछि आफ्नो अधिवेशन गर्‍यो । यो एक दशक तत्कालीन विवेकशील पार्टी, साझा विवेकशील पार्टीका जीवनमा अनेक घटना, परिघटना घटे । दुर्घटना भए । मिलन र विछोडका थुप्रै घुम्ती र मोडहरू आए । उत्साहपूर्ण तवरमा सुरू भएको राजनीतिक यात्रामा फुट, विभाजन, मेल र बेमेलका काण्ड भए । उज्ज्वल थापाले रोपिदिएको सपनाको उज्यालोलाई धेरै पटक हिउँ, असिनाले चुट्यो, घामपानीले सेक्यो, रूझायो । फुटसँगै सुस्तायो, ओइलायो र मुर्झायो । कलमी गरियो, कति हाँगा छिने, कति जरा काटियो । तथापि यो अर्धविक्षिप्त, विक्षिप्त र मृत प्रायः जस्तो देखिए पनि मृत्युवरण नगरी समीक्षा बास्कोटाको नेतृत्वमा ६ महिनाअघि पुनर्जीवन प्राप्त गरेको यो दलले धूलो टकटकाएर लडखडाउँदै उठ्ने प्रयास गर्‍यो । प्रारम्भिक दिनका ऊर्जा र उत्साह निकै सकारात्मक थिए । आम बौद्धिक मान्छेको ध्यान खिचेको थियो ।

२०७४ सालको स्थानीय चुनावमा विवेकशीलकी रञ्जु र साझाका किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उल्लेख्य मत प्राप्त गरे । २०७४ सालको संघीय चुनावमा देशभर दुई लाख दश हजारभन्दा बढी भोट ल्याएर र बागमती प्रदेशमा समानुपातिकतर्फबाट तीन जना प्रदेशसभा सदस्य जिताएको दल २०७९ सालको प्रदेशसभा र संघीय चुनावमा विलुप्त जस्तै देखियो । एकता र फुट तथा फेरि एकता र फुटको श्रृंखलाबद्ध चरणबाट गुज्रँदै साझा विवेकशील दलले प्रथम अधिवेशनमार्फत विम्बमा नै भए पनि नेपाल बदलिँदै गरेको झल्को अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना, उपाध्यक्षमा विमला अधिकारी, प्रकाशचन्द्र परियार र मिलन पाण्डे अनि सचिवमा पवित्रा थापाको चयनले पनि दिएको छ । पार्टीको भाइटल पोष्टमा यी अनुहार र यिनको उपस्थितिले दलको प्राथमिकता महिला, दलित र वैचारिक नेतृत्व हो भन्ने जानकारी दिन्छ । खडेरीमा थोरै भए पनि शीतलता प्राप्त हुन्छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव महिला भएर हाँकेको दल सम्भवतः नेपालको इतिहासमा यो पहिलो दल हो !

आलोचनात्मक चेतलाई स्वागत गर्ने पार्टी चाहिएको छ । निषेध र प्रतिशोध लिने होइन । राजनीति बहाना र बयानबाजी हुँदै होइन । एक्सन ओरेन्टेड राजनीति आजको माग हो । भाग खोज्ने राजनीति होइन, भाग्य लेख्ने राजनीति गर्ने बाटोमा लाग्नुपर्छ ।

पपुलिज्म, स्टन्ट र स्कुप मार्ने दाउको कब्जामा जाँदै गरेको राजनीतिलाई आफू हारेर केही वर्ष पार्टीले चुनाव हारेर पनि निष्ठाको दियोमा तेल थप्नबाट विचलित हुनुहुन्न । आलोचनात्मक चेतलाई स्वागत गर्ने पार्टी चाहिएको छ । निषेध र प्रतिशोध लिने होइन । राजनीति बहाना र बयानबाजी हुँदै होइन । एक्सन ओरेन्टेड राजनीति आजको माग हो । भाग खोज्ने राजनीति होइन, भाग्य लेख्ने राजनीति गर्ने बाटोमा लाग्नुपर्छ । यतातिर लाग्ला त पुनर्जीवित साझा विवेकशील दल ? साझा विवेकशील दलललाई अधिवेशन सफलताको शुभकामना दिने क्रममा नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल भन्दै थिए- ‘मौका नपाएर इमानदार भएका धेरै छन् । मौका पाउँदा पनि इमानदार नै बनिरहने पार्टी बनोस् । आफूलाई आफूभन्दा योग्य र इमानजमान भएकासँग दाँज्नुपर्छ न कि सबैभन्दा बेइमानसँग दाँजेर मख्ख हुनु सुहाउँदैन ।’

भुसालले भने झैं सदा इमानदार बन्न साँघुरो स्वार्थ र मोहको राजनीतिबाट साधक राजनीतिउन्मुख हुनुपर्छ । सबैभन्दा इमानीसँग तुलना गरेर ऊभन्दा इमानी हुने साधना गर्नुपर्छ । राजनीतिमा साधना भनेको निष्ठापूर्वक काममा समर्पण हो । साधनाले प्राप्त सफलतामा आत्तिने र मात्तिने अवगुण कम हुन्छ ।

त्यो आशाको उज्यालो

कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादीको पनि विकल्प हुनसक्छ भन्ने धेरै मान्छेलाई लागेको थिएन । झन चुनावमा कांग्रेस कि कम्युनिष्टमात्र भन्ने रोजाइ थियो । सरकार गाई कि त्रिशुल भनेर फ्यान्टी गरेर चलाए जस्तो हुन्थ्यो । यद्यपि आज पनि त्यो छ । तर, नेपाली राजनीतिमा कांग्रेस, कम्युनिष्ट र राप्रपाभन्दा अरू पनि छन् भन्ने आशाको उज्यालो बोकेर तत्कालीन विवेकशील दल उदाएको थियो । केही हद सुसंस्कृत राजनीतिको सुरुवात र जग बसाल्न सफल भएको थियो । अराजकता नै विरोधको सशक्त माध्यम भनेर बन्द जस्तो आर्थिक रूपमा देशलाई ज्यादै घाटा हुने माध्यम रोजिन्थ्यो । बन्द भन्दै स्थापित दलका नेताहरू लाठी बोकेर, टायर बाल्दै सडकमा निस्किन्थे । मानौं, सडक युद्धस्थल हो । बन्द देश बनाउने अचुक औषधि हो, सडकको भाँडभैलो, चक्काजाम हान्मुन्ग्री सडकमा निषेध धूवाँ, धूलो आदि समृद्धिको मुख्य आधार जस्तो गरिन्थ्यो ।

बन्द गरेपछि लाग्थ्यो सडक बन्दवाला पार्टीको बपौती हो । त्यहाँ तिनले जे गरे पनि हुन्छ, अन्यथा देश बन्दैन । देशको राजनीति सुध्रिँदैन, राज्यले कान खोलेर सुन्दैन । राज्यलाई हरेकले आफ्नो माग सुन्न र झुकाउन बाध्य पार्ने बेस्ट आइडिया नै जिल्ला बन्द, अञ्चल बन्द र देश बन्द भन्ने चलन बसेको थियो । जबकि त्यतिखेर सडक बन्द गरेर रेलिङ भत्काएर, तोडफोड, आगजनी, हिंसाविना विरोध गर्न सकिन्छ र त्यो विरोध प्रभावकारी हुन्छ भन्ने सोच र चेत थिएन । बन्द गर्नु गलत हो भन्ने चेतना जनमानसमा थिएन । त्यस्तो वेला बन्दको विरोध गरेर बन्द सधैंका लागि बन्द भन्दै ‘नेपाल खुला छ, नेपाल खुला गरौं, आआफ्नो व्यापार व्यवसाय चलाऔं, स्कुल कलेज र विश्वविद्यालय खोलौं, कलकारखाना चलाऔं’ भन्दै केही युवा सडकमा निस्कन्थे । रिक्सा र स्कुटर प्रयोग गरेर नेपाल बन्दको विरोध गर्थे । यो शैली धेरैलाई अचम्मको लागेको थियो । यसरी पनि कहीं हुन्छ ? नेपाल बन्दका समर्थकहरूले सुरूसुरूमा प्रतिवाद पनि गरेका थिए ।

राजनीतिक दललले सडकमा बसेर पनि धेरै कुरा सिकाउन सक्छ । आजसम्म आफू नबने पनि विवेकशील साझाले केही सिकाएको छ । राजनीतिको केन्द्र भन्जन गरेर रचनात्मक मार्ग देखाएको छ ।

तर, युवाहरूले आफ्नो प्रयास छोडेनन् । हरेक बन्दको विरुद्ध रचनात्मक विरोध प्रदर्शन गरिरहे । सरकारलाई माग सुनाउन बन्द नै गर्नुपर्छ भन्ने छैन भन्दै विरोधस्थलको रूपमा आफ्ना माग सुन्ने र सुनाउने स्थलको रूपमा माइतीघर मण्डलालाई लिए । त्यहाँ पनि सरकारले हस्तक्षेप गर्‍यो । विरोध प्रदर्शन गर्न बन्देज लगायो । तर, त्यो क्षेत्रलाई शान्तिपूर्ण विरोधस्थलको रुपमा आज सबैले चिनेका छन् । आज माइतीघर मण्डला सरकारलाई जो-कसैले आफ्ना कुरा सुनाउने वाक स्वतन्त्रता र माग राख्ने ठाउँको रूपमा मानकस्थल भएको छ । रैतीको संसदमा रूपान्तरण भएको छ माइतीघर । जहाँ राष्ट्रका हरेक समस्याको उठान गर्न सकिन्छ । फरक आयाम, फरक सोच, रचनात्मक विरोधको शैली, बन्द विरोधको व्यापक हतियार र बन्दको बेला नेपाल खुला छ भनेर हिँड्ने अभियान चलाएर बन्दको विकल्प खोज्न दलहरूलाई विवेकशील नेपालीले बाध्य पार्‍यो ।

२०७४ को चुनावी घोषणापत्रमा सबै दलले अब आफूले पनि विरोधमा बन्द जस्तो घातक हतियार प्रयोग नगर्ने बाचा, कसम गरे । फलस्वरूप बन्दको प्रयोग घट्दो छ । जसको श्रेय विवेकशील नेपालीलाई जान्छ । यो सामान्य उपलब्धि होइन, गलत संस्कार सच्याउन सडकबाट पनि सकिन्छ भन्ने गतिलो दृष्टान्त हो । राजनीतिमा नयाँ भाव, सोच, शैली, रूप, रङ्ग, साजसजावट र केही फरकपनसहित तत्कालीन विवेकशील दल उदाएको थियो । राजनीतिक पार्टीहरू सार्वजनिक सभा, समारोह गर्दा सभास्थल सडक जताततै आफ्ना प्रचार सामग्रीसहित चुरोट, खाजा नास्ताको फोहोरले सडक दुर्गन्धित र असरल्ल पारेर हिंडथे । आफूले कार्यक्रम गरेपछि सो सफा गर्ने जिम्मा आफ्नो हो भन्दै विवेकशील दलले फोहोर उठाउन सुरू गर्‍यो । आफ्नोमात्र होइन सार्वजनिक ठाउँमा अरू पार्टी र समूहले गरेको कार्यक्रमस्थल पनि सफा गरिदिएर सामाजिक उत्तरदायित्वको शिक्षा र उदाहरण पेश गर्‍यो, जुन कुरा आज सबै दलले अनुशरण गरेका छन् । नयाँ दल सम्भावना र विकल्पमा आज जो जसरी आए, त्यसको श्रेय आजको साझा विवेकशील दल हो । एउटा पार्टीको लागि यो सामान्य सफलता होइन । राजनीतिक दललले सडकमा बसेर पनि धेरै कुरा सिकाउन सक्छ । आजसम्म आफू नबने पनि विवेकशील साझाले केही सिकाएको छ । राजनीतिको केन्द्र भन्जन गरेर रचनात्मक मार्ग देखाएको छ ।

राजनीतिमा नैतिक धरातल

आफूले विगतमा प्रतिस्थापन गरेको मानक राजनीतिक संस्कृतिको प्रवर्द्धन गर्दै नवीन रचनात्मक र सिर्जनात्मक राजनीतिक संस्कृतिले समृद्ध पार्टी बनाउन उन्नत नैतिक धरातलले काम गर्छ । एउटामात्रै पार्टी नैतिकवान र मूल्यसहितको बन्यो भने अन्य पार्टीलाई नैतिक धरातल उकास्ने या गएगुज्रेको आकर्षणविहीन पार्टी बन्ने दबाब र तनावको सिर्जना हुन्छ । राजनीतिमा नयाँ नायकको जन्म भएको सन्देश प्रवाह गर्नुपर्छ । विवेकशील साझाका हरेक नेता-कार्यकर्ताले आआफ्नो ठाउँका नयाँ नायक बन्ने ल्याकत राख्नुपर्छ । पार्टी अनुशासन आकर्षण बन्नुपर्छ । विवेक, इमान, न्याय, निष्ठा, सुकर्म र नैतिकताको अनिकाल परेको समाजमा विवेकशील हुनु आफैंमा जखमको चुनौती हो । निरन्तर खस्कंदै गएको नैतिकता, इमान र विश्वासको सङ्कटको ह्रासोन्मुख अवस्थामा नैतिक धरातलसहितको विचार र शैली, कार्ययोजना, दर्शन र वैचारिकी चाहिन्छ । नैतिक बल उकास्ने तागत चाहिन्छ । नैतिकता भएको नेता चाहिन्छ । उद्यमशील युवा, समाज र देशलाई भन्ने नारा बोक्ने साझा विवेकशील पार्टी सङ्गठनको मामलामा पटक-पटक असफल बनेको छ । श्रम, सीप, साधना र सार्थकता यही देशको माटोमा नेता डिलर होइन लिडर हो भन्ने पाठ असफलताले सिकाएको हुनुपर्छ ।

एउटामात्रै पार्टी नैतिकवान र मूल्यसहितको बन्यो भने अन्य पार्टीलाई नैतिक धरातल उकास्ने या गएगुज्रेको आकर्षणविहीन पार्टी बन्ने दबाब र तनावको सिर्जना हुन्छ । राजनीतिमा नयाँ नायकको जन्म भएको सन्देश प्रवाह गर्नुपर्छ ।

सत्यले एउटा खुट्टामा जुत्ता हालुञ्जेल झूटले दुवै खुट्टामा जुत्ता लाएर चार गाउँ चहारिसक्छ भन्ने उदाहरण राजनीतिमा निष्ठा र न्यायको हकमा सावित छ । झूट चिर्न झूटको सहारा लिने परिपाटी बसेको छ त्यसको अन्त्य राजनीति सफा हुने पहिलो चरित्र हो । चुनाव हार्न डराउनेले इथिक्सको रक्षा गर्न सक्तैन । चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मान्यताको कारण राजनीतिमा विकृति छ । राजनीतिमा चुनाव हार्दा तत्क्षण घाटा देखिएला, व्यक्ति र पार्टीलाई असर पर्ला । तर, इमान, निष्ठा र नैतिकताको राजनीति जीवित रह्यो भने देशलाई भने दीर्घकालीन रूपमा फाइदा हुन्छ ।

सहज छैन राजनीति

जनमत पार्टीका अध्यक्ष सीके राउत भन्दै थिए- ‘सिण्डिकेटको कारण वैकल्पिक शक्ति निर्माण हुन कठिन देखिएको छ ।’ पुराना पार्टी र तिनका हरेक निकायमा चल्ने हैकम र तिनले बनाएको विधानको कारण दलीय सिण्डिकेट छ । त्यसैले सहज छैन नयाँको लागि । एउटा राजनीतिक पार्टी बन्न राजनीतिमा वर्षौंको चर्काे घाम, जाडो, गर्मी, असिना, झरी, तुसारो, तुवालो, हिउँ, हावाहुरी खप्नु, सहनु र पचाउनुपर्छ । निर्लज्ज, बेसरम, निर्विवेकी र सत्ताको लागि सामर्थ्यविना मरिहत्ते गर्नेहरूको लागि सदा चुनौती र अवरोधको पहाड बनेर खडा हुन धेरै गाह्रो छ ।

राजनीतिलाई स्वार्थ र अश्लील सत्ताको माध्यम होइन सभ्य, सुसंगत र सुसंगठित समाजसेवा बनाउन सकियो भने त्यसले सामाजिक मूल्य र मर्यादा प्राप्त गर्छ । राजनीतिमा सरम हराएको बेला छ । लोक रिझ्याइको मौसम बनेको छ । भीडको विलखबन्दमा परेको छ राजनीति । एक प्रकारको मास हिस्टेरिया जस्तो देखिएको छ राजनीति । अहिले भएका राजनीतिक दल जस्तै विकल्प होइन, नयाँ विकल्प, अग्र्यानिक विकल्प, आफ्नो माटोको सुगन्धले भरिएको, नेपालवाद हावी भएको विकल्प उदीयमान शक्तिको अभिष्ट हुनपर्छ । सबैखाले हैकम, व्यक्तिवाद, भीडवाद र मनोपोलीवादको अन्त्य गरी कानूनी राजलाई पछ्याउने विचार, दल र नेता-कार्यकर्ता अहिलेको खाँचो हो ।

राजनीतिमा मूल्य, मानक, मान्यता, असल थिति र नैतिकताको स्थान उच्च राख्ने फराकिलो राजमार्गको जरूरी छ । पार्टीमा अनैतिक, अनुशासनहीन, उद्दण्ड र अराजक जमात जम्मा हुन समय लाग्दैन । सबै स्वार्थ लुट्ने दलभित्र आश्रय लिएर आफ्नो स्वार्थको पेशा गर्ने मान्छेको बाहुल्य समाजमा छ । यसर्थ पार्टीलाई विशुद्ध अग्र्यानिक, जुठो नखाएको नवीन संस्कृति र पद्धतिसम्मत राख्न, विधिको अनुशरण गर्ने दलको चिनारी छोड्न सामान्य मेहनत र प्रयत्नले पुग्दैन । भगीरथ यत्न मिसिनुपर्छ सबै नेता-कार्यकर्ताको । विकृत सत्ता स्वार्थको राजनीतिबाट पार्टीलाई जोगाउने र आफू जोगिने प्रण अहिल्यैदेखि गर्नुपर्छ । ‘निष्ठावान नेता र सेवक दल’ यो पार्टीको पूर्व श्लोगन हो, यसको रूपमा होइन सारमा अवलम्बन गर्नुपर्छ ।

पटक-पटक लडेर उठेको शक्तिमा कहिल्यै ठेस नलागेको शक्तिमा भन्दा बढी सुझबुझ र परिस्थितिलाई विश्लेषण गर्ने क्षमता हुन्छ भन्ने विश्वासका साथ साझा विवेकशीललाई शुभकामना ! विवेकशीलको पुनर्ताजगीले एउटा बलियो सामर्थ्य निर्माण गरोस् ।

स्वःस्फुर्त कुनै पनि कार्य नगर्ने चरित्रको विकास भएको समाजमा समाजसेवामा समेत ज्याला र लाभ खोज्ने परिपाटी स्थापित छ । ज्याला लिएर गर्ने समाजसेवाको चलन बसेको मुलुकमा आचरण, नैतिकता र सिद्धान्तलाई साथ लिएर हिंड्न बडो मुस्किल छ । मुस्किलमा जो खरो उत्रिन्छ, उसले अवसर प्राप्त गर्छ । इमान, नैतिकता र सिद्धान्तनिष्ठको हकमा न्याय ढिलो प्राप्त हुन्छ । ढिलो गरी न्याय प्राप्त गर्न राजनीतिमा धैर्यको लामो साधना चाहिन्छ । आजको भोलि राजनीतिक पार्टी खोलेर शक्तिमा पुगेको आकर्षण देखेर राजनीतिमा छिटो शक्ति आर्जन गर्ने लोभले मान्छे लागेका हुन्छन् । लोभले छिटो शिखर चढ्न खोज्दा खुर्मुरिएको उदाहरण खोज्न हिजोआजका राजनीतिक घटनाक्रमले यथेस्ट प्रमाण छोडेका छन् ।

यस्तो वेला राजनीति त्यति सजिलो विषय होइन । लडेर उठ्न नसक्नु चै लाजको पसारो हो । लडेर उठ्नु र उठ्न खोज्नु सकारात्मक पक्ष हो । हिजोको फुट र एकता, पुनः फुट र विभाजन तथा छिन्नभिन्न हुने परिस्थितिको निर्मम र गम्भीर समीक्षा जरुरी छ । अन्यथा महाधिवेशन गरेर नेतृत्वमा नयाँ अनुहार देखिँदैमा केही फरक पर्दैन । नागरिक केन्द्रित गतिशील मध्यमार्गलाई आफ्नो व्यवहारिक दर्शन मान्ने पार्टीको देश चलाउने विचार अरू माझिएर र खारिएर आउने नै छ होला । भर्खर जुर्मुराएर उठ्न लागेको दललाई नीति, सिद्धान्त, दर्शन र विचारको धेरै प्रश्न अहिले नै नगरौं ।

अन्त्यमा, धेरै पटक फुट र जुटको अभ्यास गरेको पार्टी हुनाले प्रश्नहरू र संशयहरू ज्यादा हुन्छन् । जसलाई पचाउने र आलोचनात्मक चेत बुझ्ने प्रयास गर्नुपर्छ । आम मान्छेलाई लागेको सत्य हो, देश जसले बनाए पनि हुन्छ । तर, राम्रो बनाउनु पर्छ । केवल दलको उपस्थिति र संख्या देशको लागि आवश्यक छैन । विशेष र पृथक पहिचानसहितको राजनीतिक दल र तिनका नेता-कार्यकर्ताको खाँचो देखिन्छ । सत्तामा स्वार्थ र स्वादको लागि जाने नभएर आफ्नो मुद्दा र एजेण्डा लागू गर्ने सामर्थ्य भएपछि जाने सैद्धान्तिक निष्ठा भएको पार्टी अहिलेको समयको माग हो । पटक-पटक लडेर उठेको शक्तिमा कहिल्यै ठेस नलागेको शक्तिमा भन्दा बढी सुझबुझ र परिस्थितिलाई विश्लेषण गर्ने क्षमता हुन्छ भन्ने विश्वासका साथ साझा विवेकशीललाई शुभकामना ! विवेकशीलको पुनर्ताजगीले एउटा बलियो सामर्थ्य निर्माण गरोस् । राजनीति फोहोर भयो भनेर त्यतिकै छोड्न र आफू पनि फोहोरी बन्न मिलेन । कसै न कसैले यो फोहोर बढार्ने हिम्मत गर्नुपर्छ । राजनीति सधैं फोहोर र फोहोरी भएर रहन सक्दैन । फोहोर राजनीतिलाई सोहोर्ने र सफा गर्ने जिम्मा लिनु सामान्य समर्पण होइन । यो समाज र देशप्रतिको गुरुत्तर दायित्व निर्वाह गर्न यो दल सफल बनोस् ।

(लेखक कार्की त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अनुसन्धाता, एमफिल-पीएचडी हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर