मैदान बाहिरको ‘खेलकुद’- पारसमाथि किन खनिदैछन् क्रिकेट समर्थक ? – Nepal Press

मैदान बाहिरको ‘खेलकुद’- पारसमाथि किन खनिदैछन् क्रिकेट समर्थक ?

काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का प्राय विवाद र आलोचनाबाट टाढा रहन रुचाउँछन् । उनका ‘हेटर्स’ पनि निकै कम रहेको विश्वास गरिन्छ । तर, पछिल्ला केही दिनमा उनले सामाजिक सञ्जालमा थुप्रै नकारात्मक प्रतिक्रियाहरुको सामना गर्नु परिरहेको छ ।

यो सिलसिला नेपालको घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखलादेखिको हो । उक्त श्रृंखलामा ४ वटै म्याचहरु जितेर नेपालले क्लीन स्वीप गरेको थियो । त्यसलगत्तै यूएईमा जारी श्रृंखलामा पनि नेपालले ३ मध्ये दुई खेल जितेको छ ।

नेपालका हरेक जितपछि पारसले सामाजिक सञ्जालमा तस्वीरसमेत पोष्ट गरेर खुशी व्यक्त गर्छन् र म्याच जिताउन योगदान दिने खेलाडीहरूको प्रशंसा गर्छन् । तर, उनले अहिलेसम्म कुनै पनि स्टाटसमा स्पिनर सन्दीप लामिछानेको नाम लिएका छैनन् र उनको तस्वीर पोस्ट गर्न पनि कञ्जुस्याइँ गरिरहेका छन् । जबकि नेपालले जितेका हरेक खेलमा सन्दीपको महत्वपूर्ण योगदान छ ।

व्यक्तिगत सम्वन्धको चिसोपनाकै कारण सन्दीपलाई जितको श्रेय दिन नचाहेको भन्दै क्रिकेट समर्थकहरू पारसप्रति रुष्ट बनेका हुन् । उनले हालेका प्रत्येक स्टाटसमा सन्दीपलाई उपेक्षा गरेको गुनासोहरू अत्यधिक आइरहेका छन् । कतिपयले पारसमाथि ‘क्रिकेटमा राजनीति गर्न खोजेको’ आरोप पनि लगाएका छन् ।

नेपालले यूएईमा खेलेको पछिल्लो खेलमा पपुवा न्यूगिनीविरुद्ध रोमाञ्चक जित निकालेको थियो । हारको संघारमा पुगिसकेको टीमलाई आसिफ शेख र सन्दीप लामिछानेले उद्दार गरेका थिए । उनीहरूबीचको उत्कृष्ट साझेदारीले नेपाललाई मिठो जित दिलायो । सो खेलपछि सबैले आसिफ र सन्दीपको खुलेर प्रशंसा गरेका छन् ।

पारसले पनि सधैँजस्तो नेपालको जितपछि स्टाटस लेखे । उनले टीम वर्कका कारण नेपालले जित हासिल गरेको भन्दै सबै खेलाडीलाई एकमुष्ट बधाई दिए । उक्त स्टाटसमा उनले आसिफ शेखको मात्रै फोटो राखेका थिए । जबकि नेपाललाई जित दिलाउन सन्दीपको पनि ठूलो भूमिका थियो । यसैलाई लिएर क्रिकेट समर्थकहरू पारसमाथि खनिए । आफूहरूले पारसको योगदानको लागि सधैँ सम्मान गर्दै आए पनि सन्दीपप्रति पूर्वाग्रही व्यवहार देखाउँदा चित्त दुखेको टिप्पणी धेरैले गरेका छन् ।

नकारात्मक प्रतिक्रियाहरू धेरै आए पनि पारसले आफ्नो स्टाटस संशोधन गरेनन् । बरु ट्वीटरमा चाहीँ आफूलाई सच्याए । उनले ट्वीटरमा आसिफ सेखसँगै सन्दीपको पनि फोटो राखेर बधाई दिएका थिए ।

स्मरणीय यो छ कि पारस राष्ट्रिय टीमको कप्तान हुँदा नै सन्दीपसँग उनको सम्बन्ध बिग्रेको थियो । पारसले राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेपछि पनि उनीहरूको सम्बन्ध सुधार भएको छैन । अहिले पनि नेपालको राष्ट्रिय टीमभित्र पारसको पकड बलियो रहेको मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर