दुर्गा प्रसाईंको महाअभियानमा कमल थापाको ऐक्यवद्धता, सहयोग गर्न पार्टी पंतिलाई आव्हान


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।
पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने उनको भनाइ छ ।
राप्रपा अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाका निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरूलाई आह्वान गर्दछु ।’