यस्तो थियो २३१ वर्ष अगाडि आजकै दिन भएको नेपाल-अंग्रेज व्यापारिक सन्धि – Nepal Press
दस्तावेज

यस्तो थियो २३१ वर्ष अगाडि आजकै दिन भएको नेपाल-अंग्रेज व्यापारिक सन्धि

काठमाडौं । नेपाल र अंग्रेजको औपचारिक सम्झौताको रुपमा आम मान्छेलाई सन् १८१६ मार्च ४ मा हस्ताक्षर भएको सुगौली सन्धिबारेमा जानकारी छ । तर, त्योभन्दा २४ वर्ष अगाडि भएको नेपाल अंग्रेजको व्यापारिक सन्धिबारे कमैलाई मात्रै जानकारी छ । आजैको तारिखमा २३१ वर्ष अगािड सन् १७९२ मा भएको उक्त व्यापारिक सम्झौता सातबुँदे छ । भलै यो कार्यान्वयन हुन पाएन ।

कार्यान्वयन हुन नपाए पनि यो सन्धि नेपाल-अंग्रेजको व्यापारिक क्षेत्रमा भएको पहिलाे सन्धि हो । यसमा दुई देशमा मात्रै नभएर तेस्रो देशमा पनि व्यापार गर्न पाउने प्रावधान राखिएको थियो । यो सन्धिको दस्तावेज नेपालको संस्थागत स्मृतिमा छैन । तर, विभिन्न क्षेत्रहरुमा यसका सन्दर्भ साभार गरिँदै आएका छन् । भारतीय लेखक काशीप्रसाद श्रीवास्तवले सन् १९५५ मा प्रकाशन गरेको आफ्नो पुस्तक ‘नेपालीकी कहानी’मा उल्लेख गरेका छन् ।

यस्तै पूर्वगोर्खा सैनिक तथा लेखक टिमआई गुरुङले लेखेको एसिया टाइम्सको लेखमा पनि यो सन्धिको प्रसंग ल्याइएको छ । ‘नेपालको कूटनीतिक इतिहास’ पुस्तकमा प्राध्यापक डाक्टर सुरेन्द्र केसीले पनि यो सन्धिका प्रावधान समेटेका छन् ।

यस्ता थिए आजकै मितिमा २३१ वर्ष अगाडि भएको नेपाल-अंग्रेज व्यापार सन्धिका सात बुँदाः

१. सामान्य कल्याणको तर्जुमा व्यापारी र व्यवसायीहरुको सुविधाका निम्ति कम्पनी र नेपाल दुवै राज्यका प्रशासकहरुको सहमतिमा २.५ प्रतिशत वार्षिक शुल्क व्यवस्था गरियो । यसमा अनियमितता हुन नदिन दुवै देशको प्रतीक चिह्न बीजकको पृष्ठमा अंकित गरिने र मूल प्रति व्यापारीलाई तथा प्रतिलिपि कार्यालयमा राखिनेछ । मूल बीजक नभएमा भन्सार अधिकारीद्वारा बजार भाउअनुसार अढाई प्रतिशतका दरले कर लगाइनेछ ।

२. ठाउँ हेरी दुवै देशले भन्सार असुल गर्ने स्थान निर्धारित गरिएको छ । सोही ठाउँमा शुल्क बुझाउनुपर्ने र एकपटक शुल्क बुझाइसक्दा सोको रसिद प्राप्त भइसकेकोमा अरु कुनै प्रकारको शुल्क दिनुपर्ने छैन ।

३. दुवै देशका अधिकारीमध्ये जसले बढ्दा लिने वा छल्ने काम गर्दछन्, त्यसलाई प्रमुख प्रकाशकबाट उदाहरणीय दण्ड दिइनेछ, जसले गर्दा त्यस्ता अपराधीहरु हतोत्साहित होऊन् ।

४. व्यापारीहरुको मालसामान हराए वा नोक्सानी भएमा स्थानीय अधिकारीले आफ्नो उच्च अधिकारीलाई जानकारी गराई स्थानीय पाले वा कुरुवालाई बाध्य गरी सम्बन्धित व्यापारीलाई क्षतिपूर्ति दिइनेछ ।

५. दुवै देशका व्यापारीहरुमाथि कुनै प्रकारको हिंसा, दमन जस्ता अनुचित काम भएमा त्यस स्थानको कर्मचारीबाट घटनास्थलमा यथाशीघ्र पीडितमाथि विचार तथा अनुसन्धान गरिने र निष्पक्षतापूर्वक दोषीलाई दण्ड दिइनेछ ।

६. भन्सार बुझाइसकेपछि दुवै देशका व्यापारीहरु आफ्ना मालसामान एक वा अरु देशमा बेच्न लैजान सक्छन् । मालसामान एक देशमा बिक्न नसके चाहेमा अन्यत्र लैजान लाग्दा प्रथम प्रवेश शुल्कबाहेक लैजान चाहेको देशका अधिकारी वा प्रजाले कुनै प्रकारको कर लिन पाउने छैनन् । र, सामान सुरक्षित जान दिनुपर्नेछ ।

७. दुवै देशका वर्तमान तथा भविष्यका शासनकर्ताका निम्ति यो सन्धि वैध वा बाध्य हुनेछ । सो सन्धि पर्खालस्वरुप दुवै देशको जनताका हितका लागि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *