अनलाइन ठगी गिरोहको जालमा नेपाली महिला- पार्सल फुत्काउन लाखाैं फसेपछि खुल्यो होस – Nepal Press

अनलाइन ठगी गिरोहको जालमा नेपाली महिला- पार्सल फुत्काउन लाखाैं फसेपछि खुल्यो होस

काठमाडौं । राधिका शर्मा (नाम परिवर्तन) सामाजिक सञ्जाल फेसबुकमा फ्रान्क विलियम्स नाम गरेका व्यक्तिसँग साथी भएपछि मख्ख थिइन् । आफूलाई बेलायती नागरिक बताउने विलियम्सको गफमा राधिका भुल्न कति पनि समय लागेन । फ्रान्कले धेरै मेहनत गरिरहनु परेन ।

फेसबुक र म्यासेन्जरमा जोडिएपछि उनीहरुबीच ह्वाट्स एपमा पनि कुराकानी भइसकेको थियो । केही महिनाअघि आफूलाई भारतीय भन्सार कार्यालयको कर्मचारी बताउने व्यक्तिले ह्वाट्स एप नम्बरबाट राधिकालाई सम्पर्क गरे । राधिकाको नाममा विभिन्न मोबाइल र सामान आएको र त्यसका लागि भन्सार कर तिर्नुपर्ने भनिएको थियो । राधिकाले थाहा पाइन्- उनलाई त्यो सामान पठाउने फ्रान्क थिए ।

राधिकाले मख्ख पर्दै भन्सार कर तिर्न आवश्यक ५७ हजार ५ सय रुपैयाँ उनलाई भनिएबमोजिम सम्झना राईको नाममा एनसीसी बैंकको खातामा जम्मा गरिदिइन् । तर, आफूलाई भारतीय भन्सारको कर्मचारी बताउने ती व्यक्तिले राधिकालाई पुनः सम्पर्क गरे र भने, ‘तपाईंलाई पठाइएको पार्सलमा पैसा रहेछ, पेनाल्टी चार्ज ९८ हजार ५ सय भारतीय रुपैयाँ लाग्छ ।’

राधिकाले केही नसोची रकम जम्मा गर्न दिइएको दीपिका थापाको नाममा रहेको साइन रेसुंगा विकास बैंकको खातामा उनले नेपाली रुपैयाँ एक लाख ५८ हजार जम्मा गरिदिइन् । राधिकालाई भोलिपल्टै पार्सल आइपुग्छ भनिएको थियो । तर, ४-५ दिनसम्म पार्सल नपाएपछि उनलाई अर्को फोन आयो ।

भनियो- तपाईंले पाउने पार्सलमा पाउन्ड ठूलो मात्रामा छ, डेलिभरी एजेन्टले रिक्स लिन चाहेन । ५ लाख भारु चाहियो ! उनले फ्रान्कसँग यसबारे बुझिन् । फ्रान्कले केही समस्या नमानी पैसा पठाऊ, पाउन्ड धेरै छ भनेपछि राधिकाले भनिएअनुसार एभरेस्ट बैंकमा विजय श्रेष्ठको नाममा रहेको खातामा उक्त रकम जम्मा गरिन् । तर, विजयको खातामा जम्मा भएको रकम प्राप्त गर्न केही समय लाग्ने भएकाले ४-५ दिनपछि मात्र पार्सल प्राप्त हुने उनलाई भनियो ।

तर, त्यतिबेलासम्म पनि उनले सामान पाएनन् । तर, राधिकालाई १-२ दिनमै घरमै सामान डेलिभरी हुन्छ भनेर झुलाइयो ।

राधिकालाई अर्को फोन आयो- पार्सलमा ठूलो मात्रामा पाउन्ड भएकाले इन्टरनेसनल मनिटरी फन्ड र ट्याक्स सर्टिफिकेट मागेको छ । तपाईसँग छ ?

राधिकाले छैन भनिन् । त्यसपछि चिन्ता लिनुपर्दैन नेपाली १५ लाख रुपैयाँ भयो भने काम हुन्छ भनेपछि राधिका अझ आत्तिइन् । फ्रान्कसँग उनको फेरि सम्पर्क भयो । फ्रान्कले त्यत्रो पैसा पठाइ सकेको छौ, अब नपठाए त त्यो डुब्छ भनेपछि राधिकाले पैसा खोज्न थालिन् ।

ऋण गरेर उनले आफूलाई दिइएको मनिका तामाङको एनआईसी एसिया बैंकको खातामा १० लाख नेपाली रुपैयाँ जम्मा गरिदिइन् । तर, थप ५ लाख अपुग भएको भन्दै उनको सामान रोकिएको उनलाई पटक-पटक फोन गरेर भनियो । यतिबेलासम्म राधिकासँग पैसा माग्ने सबै विकल्प बन्द भइसकेको थियो । उनीसँग ५ लाख रुपैयाँ जुटाउने आँट आएन ।

बरु उताबाट फोन आयो- तपाईंको सामान अर्को डिपार्टमेन्टमा पुगिसक्यो । अब हामीले गर्न सक्ने केही छैन ।

राधिका आत्तिँदै प्रहरीकहाँ पुगिन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले अनुसन्धान अगाडि बढायो । राधिका अनलाइन ठगी गिरोहको जालमा परेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकाल्यो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । त्यसमा १५ जना फरार छन् ।

काभ्रेको तेमालकी २९ वर्षीया मनिका तामाङ र ओखलढुंगाको खिजिदिम्बाका ३० वर्षीय विजय श्रेष्ठ पक्राउ परेका छन् । प्रतिवादीमध्ये ६ जना महिला छन् ।

लगानी गर्न भन्दै खाता खोल्न लगाएर एटीएम कार्ड र पिन मागियाे

अनुसन्धानका क्रममा पक्राउ परेका आरोपितहरुले आफूलाई घटनाबारे थाहा नभएको बताएका छन् । विजयका अनुसार फेसबुकमा चिनजान भएका मोस्सी अनयीले उनलाई नेपालमा कम्पनी खोल्नुपर्ने र त्यसका लागि पैसा पठाउनुपर्ने भन्दै बैंकमा खाता खोल्न लगाएका थिए ।

नेपालमा खोलेका कम्पनी हेर्ने जिम्मा विजयलाई दिने भनियो । विजयको दाबीअनुसार उनलाई ५ वटा बैंकमा खाता खोल्न लगाएर खाता नम्बर, चेक बुक, एटीएम कार्ड र पिन नम्बर नयाँ दिल्ली कुरियर गरेर पठाउन भनिएको थियो ।

मोस्सीले ६ लाख अमेरिकी डलर पठाइदिने बताएका थिए । विजयले सुरुमा तीनवटा बैंकको खाता नम्बर, चेक बुक, एटीएम कार्ड र पिन नम्बर पठाइदिए । एक दिन मोस्सीले तिम्रो एभरेस्ट बैंकको खातामा ८ लाख रुपैयाँ पठाइदिएको छु भनेपछि उनी मख्ख परे । त्यसअघि उनलाई पार्सल पठाइदिएको छु भन्सार क्लियर गर्न ५९ हजार चाहिन्छ भनेकोमा विजय जवाफ नपठाइ बसेका थिए ।

उनलाई पठाइएको रकममध्ये विभिन्न तीन जनाको नाममा ३ लाख, २ लाख र एक लाख २० हजार गरेर कुल ६ लाख २० हजार पठाउन विजयलाई भनिएको थियो । विजयले मोस्सीले भनेअनुसार गरे ।

विजयको दाबीअनुसार उनको एभरेस्ट बैंकको खातामा रहेकोमध्ये एक लाख ७५ हजार मोस्सी आफैंले निकालेका थिए । मोस्सीले अरु पैसा पनि पठाउँछु भन्दै पछि उनलाई सबै सामाजिक सञ्जालमा ब्लक गरेको दाबी विजयको छ ।

यता पक्राउ परेकी मोनिकाले फेसबुकमा जोडिएका जोन भन्ने व्यक्तिले नेपालमा ब्यापार गर्न पैसा पठाउनुपर्ने भएकाले उनलाई एनआईसी एसिया बैंक खातामा खाता खोल्न लगाइएको दाबी गरेकी छन् । उनलाई मोबाइल बैंकिङको पासवर्ड र पिन नम्बर पठाइदिन भनेपछि मोनिकाले जोनलाई ह्वाट्स एपमा दिएकी थिइन् ।

आफूलाई नेदरल्यान्डको नागरिक बताउने तर बेलायतमा बस्ने गरेको बताउने जोनले पाँचवटा बैंकको खाता खोलेर त्यसको मोबाइल बैंकिङको पासवर्ड र र पिन नम्बर पठाउन लगाइएका थिए । एटीएम कार्ड पनि मोनिकासँगे थियो ।

मोनिकाको दाबीअनुसार घरमै बसेर काम गर्न मिल्ने भन्दै मासिक १५ हजार रुपैयाँ तलब दिने पनि भनिएको थियो । खाता खोल्न लागेको खर्चबापत जोनले मोनिकालाई उनको बैंक अफ काठमाडौंमा १५ हजार रुपैयाँ पठाइदिएको छु भन्दै खबर गरेका थिए ।

अनुसन्धानका क्रममा राधिकाले पछिल्लोपटक पठाएको १० लाख रुपैयाँ मोनिकाकै खातामा जम्मा भएको पाइएको छ । तर, मोनिकाले आफूले पासवर्ड र पिन नम्बर दिएका कारण जोनले त्योमध्ये ८ लाख ५८ हजार रुपैयाँ अन्य खातामा पठाएको र त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर