‘राष्ट्रपतिमा आधा कार्यकालको कुरा आएकोले स्वीकार गरिनँ, प्रधानमन्त्रीको अफर दुवैतिरबाट आयो’ – Nepal Press
नेपाल टक

‘राष्ट्रपतिमा आधा कार्यकालको कुरा आएकोले स्वीकार गरिनँ, प्रधानमन्त्रीको अफर दुवैतिरबाट आयो’

माधव नेपाल भन्छन्- संवाद सुरू गरेकोमा ओलीलाई धन्यवाद, एमालेसँग सधैँ सम्बन्ध बिगारेर बस्ने पक्षमा छैन

सुर्खेत । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि सोमबार सुर्खेत आए । यही मेसोमा हामीले एकाएक बनेको नयाँ गठबन्धन, यसकाो भविष्य, पावर शेयरिङमा भएको सहमति, नेकपा एमालेसँगको एकतालगायतका समसामयिक विषयमा नेपालसँग कुराकानी गरेका छौं । 

प्रस्तुत छ नेपालसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

– राष्ट्रपतिको दाबीबाट किन एकाएक पछि हट्नुभो ?

राष्ट्रपतिको दावा गर्ने भन्ने हाम्रो पार्टीको निर्णय थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसलगायतका दलहरूसँग गर्ने भन्ने थियो । त्यतिखेरसम्म एमालेबाट पनि यस्ता खालका कुरा उठ्लान भनेर कल्पना गरेका थिएनौं । समग्र पक्षलाई हेर्दा दावालाई कायम नराख्नु नै उचित ठानेर कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । समग्र पक्ष भनेको कसरी यो देशको स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ । संविधानको बाटोमा कसरी देशलाई अघि बढाएर लान सकिन्छ । देश र गणतन्त्रका सामु रहेको चुनौतीको सामना कसरी गर्न सकिन्छ । कुन-कुन शक्तिसँग हातेमालो गरेर जान सक्दछौं सबै कुरा केलाएर जान सक्छौं भन्ने सबै विषय केलाउँदा कांग्रेस लोकतन्त्र र संविधानको विषयमा संघीयता र गणतन्त्रको विषयमा प्रतिबद्ध रहेको छ ।

नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा २०७५ मा निर्माण गरेको नेकपा ब्यूताऔं भनेको हो । सबै कम्युनिष्ट पार्टी एकताबद्ध होऊन् भन्ने मेरो चाहना हो । चाहनाले मात्र हुन्नरहेछ ।

एमाले पार्टीका आफ्ना धारणाहरू होलान् । ऊसँग जोडिएका कतिपय विषयको टुंगो हुन बाँकी छ । माओवादी पनि मैले भनेका विषयमा प्रष्ट भएको पाइन्छ । हामीले जोसँग गठबन्धन गर्दै आएका थियौं उसलाई धोका दिन उचित ठानेनौं । हामीले चाहेको भए जुनसुकै कोर्ष पनि लिन सक्ने थियौं । राजनीतिमा इमान्दारिताको चिजको नाम पनि केही हुन्छ त्यसलाई कायम राख्नुपर्छ । शक्ति सन्तुलनको अवस्थालाई पनि ख्याल राख्नुपर्छ । त्यसको आधारमा हाम्रो पनि शक्ति, उपस्थिति र व्यक्तित्व र भूमिकालाई उचित ढंगले सबैले महसुस गर्छन् भन्ने सन्तोष नै ठान्नुपर्छ भनेर रामचन्द्र पौडेलजीलाई समर्थन गर्न पुगेका हुन् ।

– एक वर्ष प्रधानमन्त्री दिने सर्तमा गठबन्धनमा मिसिनुभएको हो नि ?

यति वर्ष भन्ने कहाँबाट थाहा पाउनुभएको तपाईँले ? तर, जे सुकै भएपनि हाम्रो पार्टीको अस्तित्व र हैसियत छ भन्ने कुरालाई हाम्रो पनि कुनै व्यक्तित्व र भूमिका छ भन्ने कुरालाई यदि कसैले सम्झना गरेको छ र सम्मान गर्न खोज्छ भने त्यसलाई हामीले राम्रै ठान्नुपर्छ । अहिले प्रधानमन्त्रीको रूपमा प्रचण्डजी हुनुपर्छ । उहाँ जति समय रहनुहुन्छ सफलताका साथ पूरा गर्नुहोस् । देशका सामु रहेका चुनौतीको सामना र सुशासनको प्रत्याभूति गराउन सक्नुहोस् भन्ने हाम्रो शुभकामना छ ।

– एमालेले त ५ वर्ष नै राष्ट्रपति दिने भनेको थियो नि त हैन र ?

राष्ट्रपतिको आधा-आधा कार्यकालको कुरा उठेका हुन् मैले अस्वीकार गरेको हुँ । राष्ट्रपतिजस्तो पदलाई पनि आधाआधा कार्यकाल गर्न हुँदैन यो ठीक हुँदैन भने मैले । प्रधानमन्त्रीको निम्ति मलाई प्रचण्डजीले प्रस्तावित गर्नुभएको थियो । कांग्रेसभित्रका कतिपय साथीहरूको धारणा थियो । एमालेकै तर्फबाट पनि त्यस्तो रहेको पाइयो । यी सबै अवस्था हुँदा हुँदै पनि म त ६४ सालमा पनि प्रचण्डजीले नै राष्ट्रपतिको प्रस्ताव गर्नुभएको थियो । परिस्थितिमा परिवर्तन भयो । ७२ सालमा पनि तत्कालीन एमालेबाट निकै ठूलो दबाब दिइएको थियो । ७० वर्षभन्दा पहिले किन राष्ट्रपति हुनु भन्ने मान्यताका कारण मैले उमेर नपुगेकाले अस्वीकार गरेको हो । दोस्रो, मान्छेको स्वाभावले पनि भर पर्छ । अलिकता जाँगरिलो, सक्रिय म गतिशीलतामा विश्वास गर्ने भएकाले मैले अस्वीकार गरेको हो । आजीवन भएर चाहे पार्टीको अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति कुनै पदमा बसिरहनु हुँदैन ।

– एउटै मान्छेले पद ओगटिरहनु हुन्न भन्नुहुन्छ । तर, हिजो प्रधानमन्त्री भइसक्नु भएको मान्छे राष्ट्रपतिको लागि हिजो तानातान त गरिरहनुभयो नि नि ?

खोइ ? मैले त तानातान केही पनि गरिनँ ।

– बाहिर सुन्नमा आउँछ नि ?

बाहिर त के के आउँछ आउँछ नि । सुनेका जति सबै कुरा पत्याउने हो भने बहुलाएर बसे हुन्छ । सुनेका कुराको आधारमा चल्ने होइन । मैले मरिहत्ते त गरिनँ । चुनौतीको सामना गर्छु भनेर ठानेको भए पार लगाइदिन्थे । म त त्यस्तो मान्छे । एकपटक ठानेपछि म त पार लगाइदिन्छु ।

– अस्ति भर्खरै तपाईँलाई पत्र पठाउनुभयो । हिजो झलनाथ खनालले कर्णाली आएर कम्युनिष्ट एकतामा जोड दिनुभयो । तपाईँले पनि मधेस पुगेर एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने कुरा गर्नुभयो कस्तो सहमति हो ?

मैले भनेको छैन त्यसरी । अर्थ लगाउनेले लगाएका होलान् । राष्ट्रिय सहमतिको निम्ति स्वयं प्रधानमन्त्रीले बारम्बार आग्रह गर्नुभएको छ । त्यही सन्दर्भमा भनेको हो । दोस्रो, नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा २०७५ मा निर्माण गरेको नेकपा ब्यूताऔं भनेको हो । सबै कम्युनिष्ट पार्टी एकताबद्ध होऊन् भन्ने मेरो चाहना हो । चाहनाले मात्र हुन्नरहेछ । यथार्थता के छ त्यसलाई पनि हेर्नुपर्छ । यथार्थताको धरातलमा टेकेर सम्भव हुने कुरामा लाग्नुपर्छ ।

राष्ट्रपतिजस्तो पदलाई पनि आधाआधा कार्यकाल गर्न हुँदैन यो ठीक हुँदैन भने मैले । प्रधानमन्त्रीको निम्ति मलाई प्रचण्डजीले प्रस्तावित गर्नुभएको थियो । कांग्रेसभित्रका कतिपय साथीहरूको धारणा थियो । एमालेकै तर्फबाट पनि त्यस्तो रहेको पाइयो ।

– एमालेसँगको एकता सम्भव छ कि छैन ?

हेर्नुस् धेरै विषयहरू बाँकी छन् । राजनीति, सिद्धान्त, विचार र संगठनात्मक विषयवस्तुहरू विगतका कामक्रियाकलाप, पोलिटिकल इस्यूजहरू, संविधान, गणतन्त्र, संघीयता, विकास र सुशासनलगायतका इस्यूहरू गम्भीर छलफल गरेर साझा सहमतिमा पुग्न सकिएन भने पार्टी मिलाउँदा कार्यकर्ता र नेताको व्यवस्थापन हुन सकेन भने मन मिलेन भने टिकाउ हुँदैन । त्यसो भएकाले कुरा पनि मिल्नुपर्‍यो मन पनि मिल्नुपर्‍यो ।

– तपाईँहरूको कुरा र मन मिल्दै गएको भन्ने बुझ्नपर्‍यो होइन त अहिले ?

कुरा पनि अझै गहिरो गरी भएको छैन । सुरू भएको थियो । सुरू गरेकोमा मैले धन्यवाद दिएको हुँ । कमसेकम पर्सनल रिलेसन मेन्टेन गर्न खोजियो । इनिसियसन गर्न खोजियो ठीक छ । म पनि पर्सनल रिलेसन कसैसँग बिगारेर बस्ने पक्षमा छैन । सम्बन्ध एउटा कुरा हो पार्टीमा एकताबद्ध हुनु अलग हो । यसमा धेरै कुरा मिल्नुपर्ने आवश्यकता पर्छ त्यसको लागि हतार गर्नुपर्ने आवश्यकता छैन ।

– एक/डेढ महिना सरकार यसरी नै फेरबदल भइरहने कुराले जनतामा निराशा त बढिरहने भयो नि त ?

निराशा बढ्दैन । सरकारले काम गरेर देखाउनुपर्छ । काम भएपछि जनता निराश हुँदैन । सरकारले मात्र बाटोको पीच गर्ने रोजगारीका पनि एउटाले मात्र गर्ने होइन । सरकारले त नीति लिने न हो । सही नीति लिएको छ र त्यसलाई लागू गर्न अरुले भूमिका खेल्नुपर्छ । जस्तै ५१ सालमा नीति लियौं । मै प्रधानमन्त्री हुँदा त्यस्तो महत्वपूर्ण नीति लिएँ । काम गर्नेले काम गरेर देखाउने हो ।

– दुई महिनामै प्रचण्ड कहिले ओली र कहिले देउवासँग देखिनुभयो ? गठबन्धनको भविष्यमा यसले अन्योल देखियो नि होइन ?

उहाँ (प्रचण्ड) का आफ्ना अनुभव होलान् ती कति तीता छन् कति मीठा छन् कति पीडा छन् उहाँले बताउनु होला । हामीले हेर्दाखेरि त अप्राकृतिक गठबन्धनजस्तो लागेको थियो । एउटा गणतन्त्रको पक्षधर अर्को विरोधी, एउटा राजतन्त्रको पक्षधर अर्को विरोधी, संघीयताको पक्षधर र विरोधी कस्तो कस्तो नमिल्ने । वामपन्थी भनूँ घोर दक्षिणपन्थीहरू छ । यो अवस्थामा कसरी टिक्ला भन्ने पहिलेदेखि लागेको थियो । परिस्थितिले धकेलेर प्रचण्डजीलाई त्यहाँ पुर्‍याएको थियो होला । फेरि अर्को परिस्थितिले धकेलेर उहाँलाई यो बिन्दुमा पुर्‍याएको हो । यस अर्थमा अहिले बल्ल प्राकृतिक गठबन्धनको ठाउँमा उहाँ आइपुग्नुभएको जस्तो लाग्छ । गम्भीर कुरा होइन जुन राजालाई हामीले उखेलेर फ्याँकेका थियौं । उही राजा अहिले खुट्टा उचालेर बसिरहेका छन् । त्यो सम्भव छ ?

– राजाले पनि सहमति गरौं मिलेर जाऔं भनिरहेका छन् ?

नेपालमा राजा छ ? एकादेशमा थिए राजा । त्यत्तिकै श्री ५ महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव लेख्ने हो ? त्यत्तिकै पशुपतिनाथले कल्याण गरुन् भन्ने हो ? उहाँ पूर्वराजा र नागरिकको रूपमा भूमिका खेले भयो नि ।

– राजनीति निराशा र पछिल्ला घटनाक्रमले त पूर्वराजालाई समर्थन बढ्दै गइरहेको बताइन्छ नि ?

के खुबीले । राजामा के खुबी छ जसले गर्दा हामीले जयजयकार गर्नुपर्‍यो । त्यागी छन्, जोगी भएर बस्नसक्छन् । चुनौतीका साथ भन्छु मैले ४६ सालको आन्दोलन, ४७ को संविधान, शान्ति प्रक्रिया, दूरगामी परियोजना, बुढापाकालाई भत्ता दिने कुरामा होस् म फेस गर्न तयार छु । नडराउनु नबिराउनु । मैले काम गरेर देखाको छु ।

नेपालमा राजा छ ? एकादेशमा थिए राजा । त्यत्तिकै श्री ५ महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव लेख्ने हो ? त्यत्तिकै पशुपतिनाथले कल्याण गरुन् भन्ने हो ? उहाँ पूर्वराजा र नागरिकको रूपमा भूमिका खेले भयो नि ।

– व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भन्ने बढ्दो टिप्पणीमा के भन्नुहुन्छ ?

सबैभन्दा पहिले युवा पुस्तालाई भविष्यप्रति आशावादी बनाउनुपर्छ । विद्यार्थीको पढाइ रोज्ने कसरी । सीप र रोजगारीलाई जोड्ने कसरी । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने कसरी भन्नेदेखि लिएर नेपाली अर्थतन्त्रका आफ्ना विशेषता के-के छन् भन्ने कुरामा गम्भीर बहसको आवश्यकता छ । नेपाली विशेषताको समाजवादको रुपरेखामा वौद्धिक र गहन छलफलको आवश्यकता छ । अनुभव र ज्ञानको आधारमा नयाँ खाका कोर्नुपर्छ । गरेको छैन भन्ने म मान्न तयार छैन । गरिएको छ । समय पाएको र अनुकूल भएको भए धेरै गर्न सकिन्थ्यो ।

– प्रधानमन्त्रीले मन्त्रिमण्डलको हेरफेरको कुरा गरिसक्नुभएको छ । पावर शेयरिङमा तपाईँहरूको पनि दाबी होला । कहाँकहाँ मुख्यमन्त्री लिनुहुन्छ ?

अहिले त्यो विषयमा प्रवेश गरेकै छैन । त्यो विषयमा प्रवेश नगरेकाले केही भन्न सक्दिनँ । राष्ट्रपतिको विषय टुंगियो । अब संघीय र प्रादेशिक सरकारमा कसरी कायम गर्ने भन्नेबारे अब छलफलको क्रम सुरू हुन्छ । हामी सरकारमा सहभागी हुन्छौं । मौका पाएपछि सुदूरपश्चिम सरकारमा सहभागी भएकै छौं । अन्त पनि जान्छौं सरकारमा गएर जनताको सेवा गर्ने हो । लुट मच्चाउने होइन ।


प्रतिक्रिया

One thought on “‘राष्ट्रपतिमा आधा कार्यकालको कुरा आएकोले स्वीकार गरिनँ, प्रधानमन्त्रीको अफर दुवैतिरबाट आयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर