नेपाल टेलिकमको आर्थिक अवस्था खस्किँदै, कार्यसम्पादन अहिलेसम्मकै कमजोर – Nepal Press

नेपाल टेलिकमको आर्थिक अवस्था खस्किँदै, कार्यसम्पादन अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाल टेलिकमको कार्यसम्पादन अहिलेसम्मकै कमजोर देखिएको छ । त्यस्तै, कमजोर व्यवस्थापनका कारण आर्थिक अवस्थासमेत खस्केको सञ्चारमन्त्रालयको मूल्यांकन छ ।

गत चैतमा नियुक्त भएका प्रबन्ध निर्देशक सुनिल पौडेलको कमजोर व्यवस्थापनको कारण टेलिकम समस्याग्रस्त बन्दै गएको भन्दै आन्तरिकरूपमा आलोलचनासमेत बढिरहेको छ । सञ्चालमन्त्रालय पनि पौडेलको कामबाट सन्तुष्ट छैन ।

टेलिकमका एक कर्मचारीले भने, ‘टेलिकमको प्रमुख व्यक्ति नै टेलिकमको प्रविधि र बिजनेस नबुझेको व्यक्ति भएकाले नै टेलिकम खस्किँदै गएको हो । पौडेलले संगठानिकता पनि बुझेनन् । आईटीमा मात्रै ज्ञान भएको र मानव स्रोत व्यवस्थापन कमजोर बन्दा ‘राम्रालाई भन्दा हाम्रा’ लाई प्रवृत्ति बढेर गएको छ ।’

नेपाल टेलिकमको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिको समीक्षामाथि सञ्चार मन्त्रालयले गरेको मूल्यांकनमा विभिन्न कमजोरी औंल्याइएको छ । मन्त्रालयको मूल्याकंकनमा टेलिकम कार्यसम्पादन सूचंकाकमा अहिलेसम्मकै कमजोर देखिएको हो । मन्त्रालयले पनि प्रबन्ध निर्देशकको अल्पज्ञान, अदूरदर्शिता र संस्थाको नेतृत्व गर्ने क्षमता नभएको व्यक्ति प्रमुख भएको जनाएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार पूँजीगत खर्च र विकास खर्च जम्मा ११.३३ प्रतिशतमात्रै भएको थियो । ५० प्रतिशत खर्च गर्नुपर्ने लक्ष्य थियो । कुल सञ्चालन आय ३६.८ प्रतिशत भएको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा निकै कम हो ।

वार्षिक नीति तथा कार्यक्रमको भौतिक प्रगति पनि पहिलो ६ महिनामा लक्ष्यभन्दा कम १८.४८ प्रतिशतमात्रै छ ।

विकासे निर्देशनालयहरू (मोबाइल, ब्याकबोन, सूचना प्रविधि) हरूको भौतिक प्रगति १० प्रतिशतमात्रै भएको छ । यसलाई पनि नगण्य प्रगति भनिएको छ ।

साधारण टेलिफोन वितरण लक्ष्यको १८ प्रतिशतमात्रै पुगेको छ । कम प्रगति हुनुमा कमजोर व्यवसायिक रणनीति कारक मानिएको छ । यस्तै साधारण टेलिफोनको राजस्व ४२ प्रतिशत उठेको छ ।

एडीएसएल इन्टरनेटको सबैभन्दा थोरै ८.९ प्रतिशतमात्रै राजस्व उठेको छ । मन्त्रालयले यसलाई न्यून प्रगति भनेको छ ।

मिलेमतोमा बिलिङबाट १० प्रतिशत ‘गायब’

टेलिकमको ‘बिलिङ’ मा १० प्रतिशत रकम हराइरहेको छ ।

सन् २०११ मा नेपाल टेलिकमले एसियन इन्फो (एआई) लाई जिम्मा दियो । यो कम्पनीले नेपाल टेलिकमको कन्भरजेन्ट रियल टाइम बिलिङ गर्छ । चिनियाँ कम्पनी एशियन इन्फोले बिलिङ गर्दा नै १० प्रतिशत सिस्टमबाट हराउने गर्छ । टेलिकमले वार्षिक ३२ अर्ब रूपैयाँभन्दा धेरैको बिलिङ गर्ने गरेको छ । अहिलेको हिसाबले पनि टेलिकमलाई एशियन इन्फोबाट बिलिङ गर्दा ३ अर्ब २० करोडभन्दा बढी घाटा हुन्छ । यो जान्दाजान्दै टेलिकमले ५ वर्षका लागि एशियन इन्फोसँग नै सम्झौता गरेको छ ।

एशियन इन्फोले टेलिकमसँग सेटिङमा आफ्नो सिस्टम प्रयोग गरेर मात्रै बिलिङ गर्नसक्ने बनाएको छ । बिलिङमा इन्फोले आफ्नै उपकरणबाहेक अन्य प्रयोग गर्न नमिल्ने बनाएका कारण कुनै प्रतिस्पर्धाविना नै आफ्नै बोलकबोलअनुसारको पैसामा मर्मतसमेत गर्ने गरेको बताइएको छ ।

करोडौंको काममा बोलपत्र गरेर पारदर्शी प्रक्रिया अपनाउनुको सट्टा एशियन इन्फोसँग जस्केलाबाट एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट गरेको पाइएको हो । यो कम्पनीले अन्य कम्पनीको विभिन्न उपकरण जडान गरेर बिलिङ सिस्टमलाई एसेम्बल गरेको छ ।

विश्व बजारमा इन्फोजस्तै अन्य बिलिङ सफ्टवेयर पनि छन् । अन्यबाट बिलिङ गर्दा १.५ प्रतिशतमात्रै बिलिङ सिस्टम भन्दा बाहिर जाने नेपाल टेलिकमका प्राविधिक र अधिकारी जानकार छन् । तर, पनि अहिले बिलिङमा १० प्रतिशत ‘गायब’ भइरहेको हो । यसलाई सुधार गर्नसक्दा अहिले हराइरहेको ३ अर्ब २० करोडबाट ४० करोडमा झार्न सकिन्छ ।

अमेरिकाको आइबिम, ओराकल, नेटक्याकार, फिनल्याण्डको एरिक्सन र इजरायलको एमडकलगायतबाट बिलिङ गर्दा १.५ प्रतिशतमात्रै सिस्टमबाट बाहिर जान्छ । तर अहिले टेलिकमले प्रयोग गरीराखेको एशियन इन्फोबाट १० प्रतिशत घाटा भइरहेको छ ।

नयाँ बिलिङ सिस्टम खरिदको लागि साढे २ अर्ब प्रस्ताव गरेकोमा नयाँ प्रबन्ध निर्देशकका रूपमा सुनिल पौडेल आएपछि उक्त प्रस्ताव खारेज गरेर ६ अर्बको नयाँ बिलिङ सिस्टम एशियन इन्फोसँगै किन्ने चलखेल भइरहेको छ । मर्मतको लागि ३ अर्ब १५ करोडमा ५ वर्षको थप सम्झौता गरिएको छ । बिलिङ प्रणाली मर्मत तथा अपग्रेडमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल त्यो प्रक्रिया रोक्नसमेत भनेको थियो । तर, अख्तियारको निर्देशनविपरीत टेलिकमले गुपचुपमा बोलपत्र निकालेर मर्मत सम्झौता गरिसकेको छ ।

टेलिकमको खस्कँदो प्रगतिलगायतका विषयमा पौडेलसँग कुरा गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *