ओडीआई विश्व वरीयतामा सन्दीपको छलाङ, ४५औं स्थानबाट ३१ मा उक्लिए – Nepal Press

ओडीआई विश्व वरीयतामा सन्दीपको छलाङ, ४५औं स्थानबाट ३१ मा उक्लिए

काठमाडौं । एकदिवसीय क्रिकेटको विश्व वरीयतामा नेपालका बलर सन्दीप लामिछानेले फड्को मारेका छन् । नेपालमा हालै सम्पन्न भएको त्रिकोणात्मक सिरिजकै क्रममा उनी ३१ औं स्थानमा उक्लेका हुन् ।

विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया संलग्न श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । अन्तिम खेलमा उनले चार विकेट लिएपछिकाे वरियता आइसकेकाे छैन । दोस्रो खेल खेलेपछिको वरियतामा सन्दीप ३० औं स्थानमा पुगेका थिए, जुन उनकाे करिअर बेस्ट हाे । तेस्राे खेलपछिकाे वरियतामा १ स्थान तल झरेका सन्दीप अब अपडेट हुने वरियतामा थप केही स्थान माथि उक्लिन सक्छन् ।

त्रिकोणात्मक श्रृंखला सुरू हुनुअघि सन्दीप एकदिवसीय वरीयताको ४५ औं स्थानमा थिए । त्यसबेला उनको रेटिङ प्वाइन्ट ४९८ थियो । २० फेब्रुअरीको अपडेटमा उनले रेटिङ प्वाइन्ट ५३६ पुर्याउँदै १४ स्थान माथि उक्लिएका हुन् । उनको करिअर बेस्ट रेटिङ प्वाइन्ट भने ५४० रहेको छ, जुन उनले अघिल्लो वर्षको जुलाईमा प्राप्त गरेका थिए ।

एकदिवसीय वरीयतामा फड्को लगाउने क्रममा सन्दीपले टेस्ट राष्ट्रका कैयन विश्वचर्चित बलरहरुलाई पछि पारेका छन् । भारतका मोहम्मद सामी, पाकिस्तानका सदाब खान, न्यूजिल्यान्डका टिम साउथी, ईंग्ल्यान्डका डेविड विली, अष्ट्रेलियाका एस्टोन अगरजस्ता खेलाडीहरु वरीयतामा सन्दीपभन्दा पछाडि छन् ।

स्मरणीय यो छ कि सन्दीपले नेपालमा भएको घरेलु सिरिजअघि ५ महिना कुनै प्रकारको क्रिकेट खेल्न पाएका थिएनन् । सन्दीप कारागारमा हुँदा नेपालले लिग २ अन्तर्गत स्कटल्यान्डमा चार म्याचको श्रृंखला खेलेको थियो भने नेपालमा यूएईसँग २ वटा एकदिवसीय खेलेको थियो । अब लगत्तै यूएईमा हुने लिग २ को अर्को श्रृंखलामा पनि सहभागी हुन पाउने छैनन् ।

एकदिवसीयमा माथि उक्लिएका सन्दीप टी-२० को विश्व वरीयतामा पनि नेपालका बलरहरूमध्ये सबैभन्दा अग्रस्थानमा छन् । लामो समयदेखि टी-२० नखेलेको भए पनि विगतकै प्रदर्शनको बलमा उनी ७० औं स्थानमा रहेका हुन् । टी-२० बलरको वरीयतामा सन्दीपबाहेक नेपालका अविनाश बोहरा १०० औं स्थानमा अटाएका छन् । एक दिवसीय वरीयतामा भने दीपेन्द्रसिंह ऐरी ९४ औं र सोमपाल कामी ९२ औं स्थानमा छन् ।

ब्याटिङतर्फको वरीयतामा नेपाली टीमका कप्तान रोहित पौडेलले ठूलो प्रगति गरेका छन् । घरेलु श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ६७ औं स्थानमा उक्लिएका हुन् । यो श्रृंखलाभन्दा अगाडि ८२ औं स्थानमा रहेका रोहितले १५ स्थानको फड्को मार्न सफल भए । ब्याटिङ वरीयतामा नेपालका ज्ञानेन्द्र मल्लले पनि स्थान बनाएका छन् । उनी ८६ औं स्थानमा रहेका छन् ।

(*यसअघि प्रकाशित समाचारमा केही तथ्यहरु फरक पर्न गएकाले सुधार गरिएको छ) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर