शाइन रेसुंगा डेभलपमेन्ट बैंक १५ वर्षमा प्रवेश – Nepal Press

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १५ वर्षमा प्रवेश

रुपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड १५औं वर्षमा प्रवेश गरेको छ । बुटवलमा २०६५ साल फागुन ११ गते स्थापना भएको बैंकको अहिले ५ प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालन गरेको छ । २०७९ माघ मसान्तसम्म ५१ अर्ब ३ करोड निक्षेप संकलन गरेकोमा ४३ अर्ब ६३ करोड कर्जा लगानी रहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देशअनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गरे ।

बैंकहरु लगानीकर्ताको नभई जनता (निक्षेपकर्ता)को हो भन्ने तथ्यलाई आत्मसात गरेकाले बैंक सबैको विश्वसनीय र रोजाइको बैंक बन्न सफल भएको उनले बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार वृक्षरोपण गरेको, डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको, वनवाटिकाको टिकेटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजनाअन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गरेको बताए ।

यस्तै शाइन उद्यमशीलता कार्यक्रमअन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशील बनाउन र स्वरोजगार अभिवृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम गरेको बताए ।

प्रदेश १ र २ बाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेको बैंकका ६० प्रतिशत शाखा ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ । बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार नेपाललाई

शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार बुटवलका माधव नेपाललाई प्रदान गरिएको छ ।

बैंकले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा स्थापित पुरस्कारको राशि ५० हजार १११ रुपैयाँ रहेको छ ।

बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् ।

बैंकका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशिको चेक र कदरपत्रले पुरस्कृत गरेका हुन् ।

यसैगरी वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार शाखा र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाले पुरस्कृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर