सन्दीपलाई यूएई लैजान राखेपले पहल नगर्ने, भोलिको पेसीमा के होला ? – Nepal Press

सन्दीपलाई यूएई लैजान राखेपले पहल नगर्ने, भोलिको पेसीमा के होला ?

क्यानको चिठी दर्ता गर्नसमेत अस्वीकार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले क्रिकेट सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको यूएई भ्रमणमा समावेश गर्न कुनै पहल नगर्ने भएको छ । अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप टक्टकिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई लैजाने वातावरण बनाउनका निम्ति आवश्यक पहल गर्न राखेपसँग अनुरोध गरेको थियो । क्यानका महाप्रवन्धक वृतान्त खनालले अदालतसँग समन्वय गरिदिनका निम्ति राखेपलाई लिखित पत्र पठाएका थिए । तर, क्यानको पत्र राखेपले दर्ता नै गरेको छैन ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले आधिकारिकरुपमा क्यानको चिठी दर्ता नभएको समेत जानकारी दिए ।

‘हामीले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । विदेश जान नपाउने भनेर स्पष्ट आदेश भएको हुँदा हामी त्यसलाई चुनौती दिन सक्दैनौं । राखेपको धारणा यत्ति हो,’ उनले भने ।

घिसिङले अदालतको पूर्ण सुनवाइबाट मात्रै पुरानो आदेश उल्टिनसक्ने भन्दै अरु विकल्प नरहेको समेत बताए ।

‘हामीले अनुरोध गरेर अदालतको आदेश उल्टिन होइन । पूर्ण सुनवाइकै प्रतीक्षा गर्नुपर्छ । प्रचलित एन र कानूनी अभ्यासभन्दा बाहिर हामी जान सक्दैनौं,’ उनले भने ।

क्यान स्रोतका अनुसार राखेपलाई गत शुक्रबार नै पत्र पठाइएको हो । यसबीचमा क्यानका प्रतिनिधिहरुले राखेपमा पुगेर कुराकानीसमेत गरेका थिए । कुराकानीका क्रममा राखेपका अधिकारीहरुले १२ गतेको पेशीमा नै अदालतसमक्ष यो कुरा राख्न सुझाव दिएको बुझिएको छ ।

सन्दीपलाई धरौटीमा छोड्ने फैसलामाथि सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनको पेसी १२ गते (भोलि) लाई तोकिएको छ । यता सन्दीपको पक्षका वकिलले पनि उच्चको फैसलामा आज पुनरावेदन गर्दैछन् । भोलिको पेसीमा सम्भवतः सर्वोच्चले दुवै पुनरावेदनको एकसाथ सुनवाइ गर्ने छ ।

सन्दीपका तर्फबाट गरिएको पुनरावेदनमा विदेश भ्रमणमा लगाइएको रोक हटाउनुपर्ने माग गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीम शनिबार यूएई भ्रमणमा निस्किँदैछ । यदि भोलिको सुनवाइमा सर्वोच्चले सन्दीपमाथि विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जानसक्ने सम्भावना हुन्छ । नेपालको यो भ्रमण एकदिवसीय मान्यता कायम राख्नका निम्ति निर्णायकजस्तै भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ ।

उनकै उत्कृष्ट प्रदर्शनको बलमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *