कांग्रेस-समाजवादी वार्ताः दुवै दलद्वारा राष्ट्रपतिमा दावी, भएन सहमति – Nepal Press

कांग्रेस-समाजवादी वार्ताः दुवै दलद्वारा राष्ट्रपतिमा दावी, भएन सहमति

पूर्वराजादेखि शंकराचार्यसम्मको चर्चा, लोकतन्त्र र संविधानविरोधि हर्कत सुरु भएको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एसबीच आज भएको वार्तामा राष्ट्रपति निर्वाचनलाई लिएर ठोस सहमति हुन सकेन । दुवै दलले राष्ट्रपति निर्वाचनमा आ-आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । तर, कुरा नमिलेपछि आगामी दिनमा छलफललाई निरन्तरता दिने मात्र सहमति भएको छ ।

स्रोतका अनुसार नेकपा एसका नेताहरुले संविधान र लोकतन्त्रको रक्षाका लागि पुरानै गठवन्धन ब्युँताएर पावर सेयरिङ गर्नुपर्नेमा उनीहरुको जोड दिएका थिए । देशमा अहिले पनि प्रतिगमनको खतरा नटरेको तथा पुराना शक्तिहरुले संविधान विरोधी क्रियाकलापहरु गर्न थालेकोतर्फ एसका नेताहरुले ध्यानाकर्षण गराएका थिए । कांग्रेस पनि यो विषयमा गम्भीर देखिएको थियो ।

चुनावअघि नेकपा एसलाई राष्ट्रपति दिने विषयमा गठवन्धनभित्र समझदारी बनेको चर्चा पनि वैठकमा चल्यो । नेकपा एसका महासचिव बेदुराम भुषालका अनुसार पार्टीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने ‘भद्र सहमतिजस्तो’ बनेको थियो ।

‘खनाललाई राष्ट्रपति बनाउने अनौपचारिक कुराकानी त्यसबेला भएको हो । तर, उहाँले संसदीय चुनाव नै लड्न गइसकेपछि त्यो प्रसंग अहिले रहेन’, भुषालले भने ।

आजको वैठकमा कुन पार्टीले राष्ट्रपति पाउने भन्नेमा छलफल भए पनि व्यक्तिको विषयमा चर्चा नै नभएको उनले दावी गरे ।

‘हामीले आफ्नो पार्टीको उम्मेदवार हुँदा सहमतिमा जान सजिलो हुन्छ भन्ने कुरा राख्यौं, कांग्रेसले पनि यही कुरा राख्यो’, भुषालले थपे, ‘जसले राष्ट्रपति पाए पनि साझा सहमतिको उम्मेदवार हुनुपर्छ भन्ने कुराकानी भएको छ । भोलि पनि संवाद जारी राख्न सहमत भएका छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अफर गरेको चर्चा पनि चलिरहेको छ । तर, भुषालले ओलीबाट त्यस्तो प्रस्ताव नआएको बताए ।

‘उहाँले हामी मिलेर जाउँसम्म भन्नुभएको हो, राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको होइन’, उनले भने, ‘यो एमालेपट्टिबाट चलाइएको हल्लामात्रै हुनसक्छ ।’

वैठकमा अन्य राजनीतिक विषयहरुबारे पनि विमर्श भएका थिए । खासगरि पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यका बारेमा नेकपा एसका नेताहरुले चर्चा गरेका थिए । आफूलाई श्री ४ महाराधिराज सरकार भन्दै अनाधिकृतरुपमा वक्तव्य जारी गरिनु गम्भीर विषय भएको उनीहरुको भनाइ थियो ।

यसैगरी  दुर्गा प्रसाईंले पूर्वराजपरिवारको उपस्थितिमा सुरु गरेको ‘संविधानविरोधी गतिविधि’ लाई पनि हल्का रुपमा लिनु नहुने नेकपा एसका नेताहरुले बताए । साथै, भारतबाट आएका गुरु शंकाराचार्यको गतिवविधिबारे पनि कुराकानी भएको थियो ।

कांग्रेससँग वैठकअघि नेकपा एसको पदाधिकारी वैठक बसेको थियो । वैठकले राष्ट्रपतिमा पार्टीबाट उम्मेदवार बनाउन पहलकदमी लिने निर्णय लिने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर