सन्दीपको सानदार कमब्याकः नेपालको क्लीनस्वीपका हिरो – Nepal Press

सन्दीपको सानदार कमब्याकः नेपालको क्लीनस्वीपका हिरो

मनोवैज्ञानिक दबाबबीच साहसिक प्रदर्शन गरेका सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डको त्रिदेशीय श्रृंखलाअघि कुनै खेलाडी सबैभन्दा बढी मानसिक दबाबमा थिए भने उनी सन्दीप लामिछाने नै थिए । र, समग्र प्रतियोगिताका चारवटै म्याचमा नेपालका तर्फबाट एकनाशले उत्कृष्ट प्रदर्शन कसैले गर्‍यो भने सन्दीपले नै गरे ।

सन्दीपलाई नेपालको राष्ट्रिय टीममा समावेश गर्दा केही महिलावादी अभियन्ता र मिडियाले निकै विवाद उराल्न खोजेका थिए । तर, देशको नियम–कानून र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिँदै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टीममा फर्कायो । क्यानको यही ‘बोल्ड डिसिजन’ नेपाललाई त्रिकोणात्मक श्रृंखलामा ‘क्लीन स्वीप’ दिलाउने सबैभन्दा ठूलो ‘मास्टरस्ट्रोक’ सावित भएको छ । यदि टीममा सन्दीप थिएनन् भने यो नतिजाको सायदै प्राप्त हुन्थ्यो ।

भनिरहनु नपर्ला, प्रतियोगिता खेल्ने क्रममा समेत सन्दीपलाई कति मानसिक प्रताडना दिन खोजियो । उनले नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिरहँदा रिसले रन्थनिनेहरु यही देशमा थिए । उनीहरुले सन्दीपको दोहोलो काढ्न के मात्र गरेनन् ? स्कटिस खेलाडीसँग हात नमिलाएको प्रसंगलाई आफ्नो जीत जस्तो ठानेर अतिरञ्जना एवं तोडमोड गरे । नाम चलेकै एकाध मिडियाले ‘बलात्कार आरोपितले विकेट लिए’ भनेरसमेत लेख्न बाँकी राखेनन् । सन्दीपको मनोबल यतिसम्म गिराइएको थियो म्याचपछि टिमका खेलाडीहरुले दर्शकहरुसँग चियरअप गर्दा उनी सबैभन्दा पछाडि बस्थे । तर, दुष्प्रचारका यावत हत्कण्डाहरुका बाबजुद सन्दीप मैदानमा भने खरो उत्रिए ।

प्रतियोगिताअघि सन्दीपको फिटनेसको चिन्ता थियो । उनको मानसिक स्थितिको चिन्ता थियो । यति ठूलो मानसिक यातना झेलिरहेको खेलाडीले मैदानमा कुन मनोबलका साथ खेल्ला भन्ने प्रश्न थियो । तर, सन्दीपले सबै प्रश्नको जवाफ आफ्नो खेलबाट दिए । उनीविरुद्ध अदालतमा मुद्दा छ । त्यसको उनले सामना गर्ने नै छन् । भोलि दोषी ठहरिएको खण्डमा कानूनबमोजिम सजाय पनि भोग्नुपर्नेछ ।

तर, अदालतको फैसला नआउँदै केही ट्वीटे अभियन्ता र मिडियाका न्यायाधीशहरुले गरेको फैसलालाई उनले पैतलामुनि कुल्चिदिए । आफ्नो सबै क्रोध मैदानमा पोखे । नामिबियाविरुद्धको पहिलो म्याचमा पहिलो विकेट लिएपछि मैदानमै सन्दीपको आँसु त्यसै खसेको थिएन ।

अदालतले दोषी ठहर नगरेसम्म कसैलाई पनि अपराधीको व्यवहार गर्नु हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै क्रिकेट समर्थकहरुले पनि उनलाई बलियो साथ दिएका छन् । मैदानमा सबैभन्दा बढी हौसला समर्थकहरुबाट कसैले पाएका थिए भने सन्दीपले नै पाएका थिए । उनको मनोबल बढाउन नै यो प्रतियोगितामा सामान्यभन्दा बढी दर्शकको उपस्थिति भयो । अनि टीभीमा लाइभ हेर्नेहरुको पनि सबैभन्दा बढी ध्यान सन्दीपतिर नै थियो ।

सन्दीप यो प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलरकाे सूचीमा संयुक्त पहिलाे स्थानमा छन् । स्कटल्याण्डका बलर मार्क वाट र सन्दीपले  ४-४ म्याचमा समान १३-१३ विकेट लिएका हुन् । पहिलो, दोस्रो र तेस्रो म्याचमा ३-३ विकेट लिएका सन्दीपले चौथोमा चार विकेट लिँदै आफ्नो विकेट संख्या १३ पुर्‍याए । उनको सर्वोत्कृष्ट प्रदर्शन आजको म्याचमै भयो । आक्रामक सुरुवात गरेका स्कटिस ब्याट्सम्यानहरुले सन्दीपमाथि हावी भएर खेल्ने रणनीति लिएका थिए । तर, जीत सन्दीपको भयो । उनले एकपछि अर्को गर्दै चार महत्वपूर्ण विकेट ढालेपछि स्कटल्यान्ड ब्याकफुटमा आएको थियो । अन्यथा नेपालले आज पछ्याउनुपर्ने लक्ष्यको आकार निकै ठूलो हुन सक्थ्यो ।

विकेटका हिसाबले मात्र नहेर्दा समग्रमा यस प्रतियोगिताका उनी सर्वोत्कृष्ट बलर हुन सक्छन् । उनले चाहिएको समयमा आफ्नो टीमलाई विकेट दिलाएका छन् र उनको इकोनोमी पनि राम्रो छ । यद्यपि, कुनै पनि खेलमा म्यान अफ द म्याच भने पाएनन् ।

यो प्रतियोगितालगत्तै नेपाली टीम यूएई भ्रमणमा जानेछ । तर, त्यसमा सन्दीप सहभागी हुने छैनन् । अदालतले उनलाई विदेश भ्रमणमा रोक लगाएकाले यूएई जान नपाउने भएका हुन् । सन्दीपले भोलि अदालतमा राष्ट्रिय टीमबाट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै पुनरावेदन गर्दैछन् । क्रिकेट समर्थकहरुले पनि सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न तीव्र दबाब दिइरहेका छन् । तर, उच्च अदालतको फैसला सर्वोच्चले नसच्याएसम्म त्यो सम्भव हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *