अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिए पाँच नेपाली विद्यार्थी – Nepal Press

अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिए पाँच नेपाली विद्यार्थी

काठमाडौं । अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने नेपाली विद्यार्थीहरुको टुंगो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणको राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

जसमा बूढानिलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना रहेको नियोले जनाएको छ ।

समापन कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को भएको भन्दै च्याट जीपीटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेन्ड परिवर्तन हुनसक्ने बताए ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ-नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने बताए ।

उनले सम्भावना भएका प्रतिभाशाली व्यक्तिहरू बाहिरै बस्ने हो भने देश कहिल्यै विकसित नहुने औंल्याए । प्रतिभावान विद्यार्थीहरू पढ्न जहाँ गए पनि फर्केर नेपालमै आउनुपर्ने उनको आग्रह छ ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले यस्ता कार्यक्रममा सफल व्यक्तिलाई भन्दा पनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने धारण राखे ।
‘कसैको असफलताको कथा सुन्नै नचाहने हो भने ऊ कसरी दलदलमा फस्यो भनेर थाहा हुँदैन’, उनले भने, ‘कहाँ कति चुनौती छन् भन्ने कुरा जान्न पनि असफलताका कथा सुन्नुपर्छ ।’

स्टक ब्रोकर एसोसियसन अफ नेपाल (एसबान)का अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, शेयर बजार र वित्तीय साक्षरताको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गरे ।

प्लस टू तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि ५ जना विद्यार्थी छानिएका हुन् ।

क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १६२ कलेजका एक हजारभन्दा धेरै विद्यार्थीहरू सहभागी भएकोमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए । सीधै छानिएका ५ जनासहित ८० जना विद्यार्थीले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए ।

सहभागीहरूले बिजनेश केश एनलाइसिस, सिमुलेशन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा दिएका थिए । त्यहाँबाट उत्कृष्ट ५ जनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन् ।

यसअघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम ३ स्थानसम्म हासिल गर्दै आएकोमा यसपालि आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजेनश ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर