सन्दीपबारे ‘फेक न्यूज’ फैलाइएको भन्दै क्यान दु:खी, विनोद दास भन्छन्- स्कटल्यान्ड बोर्डबाट कुनै इमेल आएको छैन – Nepal Press

सन्दीपबारे ‘फेक न्यूज’ फैलाइएको भन्दै क्यान दु:खी, विनोद दास भन्छन्- स्कटल्यान्ड बोर्डबाट कुनै इमेल आएको छैन

काठमाडौं । मैदानमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने गरी मिडियावाजी गरिएको भन्दै नेपाल क्रिकेट संघले दुःख व्यक्त गरेको छ । हिजो केही मिडियामा सन्दीप र स्कटल्यान्डका खेलाडीहरुको ‘नो ह्यान्डसेक’ लाई ‘ट्विस्ट’ गरेर गलत समाचार प्रकाशित गरिएको भन्दै क्यानका अधिकारीहरु दु:खी बनेका हुन् ।

स्रोतका अनुसार हिजो स्कटल्यान्ड र नेपालको म्याचभन्दा अगाडि सन्दीपसँग स्कटिस टिमका म्यानेजरको नेपालकै ड्रेसिङ रुममा करिब आधा घन्टा सौहार्द कुराकानी भएको थियो । उक्त कुराकानीमा म्यानेजरले आफ्नो टिमका एक वा दुई खेलाडीले म्याचपछि सन्दीपसँग जोडेर नेपाली मिडिया र सोसल मिडियामा आफूहरुमाथि लाञ्छना लगाइन सक्ने भन्दै चिन्ता व्यक्त गरेको सुनाएका थिए ।

म्यानेजरको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘हामी नेपाली मिडियाको माहोल राम्ररी नियालिरहेका छैं । मुलधारका सञ्चारमाध्यम र केही सोसल मिडिया प्रयोगकर्ताले तपाईंविरुद्ध चलाइरहेको अभियानबारे हामीलाई जानकारी छ । तपाईंसँग हात मिलाएको तस्वीर बाहिर ल्याएर स्कटल्यान्डको बोर्डलाई समेत ट्याग गरी दुष्प्रचार गरिनसक्ने भन्दै हाम्रो टिमका एक–दुई खेलाडीले चिन्ता व्यक्त गरिरहेका छन् ।’

म्यानेजरको उक्त घुमाउरो सन्देशमा जवाफ दिँदै सन्दीपले ‘एउटा खेलाडीले पनि आफूसँग हात मिलाउन इन्कार गरे त्यो आफ्नो लागि अपमानजनक हुने बताए । बरु आफूले नै कसैसँग पनि ह्यान्डसेक नगर्ने अडान उनले लिएका थिए ।

सन्दीपले म्यानेजरलाई भनेका थिए, ‘तपाईंको टिमका एकजना खेलाडीलाई आपत्ति छ भने पनि म कसैसँग हात मिलाउँदिन ।’

सन्दीपले जे भनेका थिए, हिजो मैदानमा त्यही नै भयो । स्कटिस कप्तानले ह्यान्डसेकका लागि हात अघि बढाए पनि सन्दीपले हाँसेर टारेका थिए । कप्तानसँग सन्दीपले ह्यान्डसेक नगरेपछि अन्य खेलाडीहरुले पनि एप्रोच गरेनन् । तर, अन्तिममा रहेका एक खेलाडीले सन्दीपलाई हात बढाएका थिए । तर, सन्दीप उनीसँग पनि पन्छिए । सन्दीपले हात नमिलाउँदा ती खेलाडी अलमलमा परेको भिडियोमा देखिन्छ ।

यही घटनालाई नेपालका केही मिडियाले गलत तरिकाले चित्रण गरेर दुष्प्रचार गरेको क्यानका एक पदाधिकारीको गुनासो छ ।

‘वास्तविक घटनालार्ई तोडमोड गर्दै नेपाली मिडियाबाटै यस्तो प्रपोगाण्डा हुनु असाध्यै दु:खद छ,’ ती पदाधिकारीले भने, ‘मैदानमा डटिरहेको खेलाडीको मनोबल गिराउने तथा देशको प्रतिष्ठासँग जोडिएको विषयमा संवेदनहीनता देखाउने काम नगरेको हुन्थ्यो ।’

आजै एउटा दैनिक पत्रिकाले प्रतियोगिताअगाडि नै स्कटल्यान्डको क्रिकेट बोर्डले क्यानलाई इमेल पठाएर सन्दीपसँग हात नमिलाउने पूर्वसूचना दिएको दावी गरेको छ । उक्त समाचारमा क्यान स्रोतको हवाला दिइएको छ ।

तर, हामीले क्यानका म्यानजेर विनोद दाससँग यस विषयमा जिज्ञासा राख्दा उनले उक्त समाचार ‘फेक’ भएको बताए ।

‘स्कटल्यान्ड क्रिकेट बोर्डसँग मैले नै कम्युनिकेसन गरेको हुँ,’ उनले नेपाल प्रेससँग भने, ‘त्यस्तो कुनै पनि इमेल हामीलाई आएको छैन ।’

समाचार पढेपछि पनि आफूले दोहोर्‍याएर इमेल चेक गरेको तर स्कटल्यान्ड बोर्डको इमेल नभेटेको दासको भनाइ छ । सन्दीपसँग स्कटन्ल्यान्डका खेलाडीले ह्यान्डसेक गर्ने वा नगर्ने विषयमा क्यानलाई कुनै पनि सूचना नरहेको पनि उनले स्पष्ट पारे ।

‘यसमा क्यान कतै पनि जोडिएको छैन । इमेलमा वा अन्य माध्यमबाट क्यानलाई उहाँहरुले सन्दीपको विषयलाई लिएर केही कुरा गर्नुभएको छैन,’ दासले भने ।

उनले अदालतमा विचाराधिन मुद्दालाई नै प्रभावित तुल्याउने गरी केही मिडियाले गलत समाचार प्रकाशन/प्रशारण गरिरहेको पनि बताए ।

यो त्रिकोणात्मक प्रतियोगिताभन्दा अगाडि नेपालका केही ट्विटर अभियन्ताले स्कटल्यान्ड र नामिबियाका क्रिकेट बोर्डलाई ट्याग गर्दै सन्दीपलाई समावेश गराइएको टिमसँग नखेल्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा स्टेटमेन्ट निकालेर स्कटल्यान्डको क्रिकेट बोर्डले सन्दीपलाई खेलाउने वा नखेलाउने विषय नेपाल क्रिकेट संघ र आइसीसीको भएको प्रष्ट पारेको थियो । यसलाई पनि केही मिडियाले ट्विस्ट गरेर समाचार लेखेको क्यान पदाधिकारीको भनाइ छ ।

‘क्रिकइन्फो जस्ता अन्तर्राष्ट्रिय न्यूज पोर्टलहरुले पनि गलत समाचार प्रकाशन गरेका छन् । तर, आफ्नै देशका मिडियाको यो अवस्था छ भने विदेशीलाई के दोष दिनु ?’ ती पदाधिकारीले भने ।


प्रतिक्रिया

4 thoughts on “सन्दीपबारे ‘फेक न्यूज’ फैलाइएको भन्दै क्यान दु:खी, विनोद दास भन्छन्- स्कटल्यान्ड बोर्डबाट कुनै इमेल आएको छैन

  1. बिशेस गरि अनलाइन खबर का पत्रकार हरु संदिप लामिछाने बिरुद्ध हात धोएर उत्रेका छन् समय अबस्य आउँछ पैसा मा बिकेर देश बिरोधि गतिविधि गर्ने पत्रकार र मिडिया हाउस जनता को निगरानी मा छन बेलै मा होसियार।

  2. सन्दिप लामिछाने बिरुद्ध गलत समाचार सम्प्रेषण गर्ने पत्रीका अनि राजनीतिक दलको महामन्त्री भएर पनि गैर जिम्मेवार अभिव्यक्ती दिनेहरुलाई राष्ट्र प्रेमी जनताले चिन्ने मौका पाएका छन् । बिधिको शासन हुने कुरामा हामी ढुक्क छौं ।प्रभावित गर्ने र गलत समाचार लेख्नेहरुलाई चिनम है।

  3. गगन, बिश्वप्रकाश, कान्तिपुर र सेतो पार्टीहरुलाई Go Back भन्ने दिन आउला जस्तो छ ।

  4. नेपालको कानुनमा नै एक ठूलो कमजोरी छ। अमेरिकी १८ बर्षको प्राबधान यहाँ कपि त गरियो तर त्यहाँ hospital record को आधारमा सही उमेर निर्धारण गरिन्छ भने हाम्रो जन्मदर्ता १७-१८ बर्ष अघि कस्तो मनोमानी पुर्ण थियो त्यो जगजाहेर नै छ। त्यसमा पनि छोरीहरुको सवालमा ६६% को १-२ बर्ष घटाइएको यथार्थ हो। १००० अपराधी छुटोस् १ निर्दोष नपरोस् भन्ने कानुनको मान्यतालाई हाम्रो यही कानुनले उल्लङ्घन गरेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर