नीति/नियम बनाउँदा सरोकारवालासँग छलफल गरे मात्र खोजेको नतिजा प्राप्त हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल – Nepal Press

नीति/नियम बनाउँदा सरोकारवालासँग छलफल गरे मात्र खोजेको नतिजा प्राप्त हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानूनहरु बनाउँदा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल गरेर बनाएमा मात्र खोजेको उद्देश्य र नतिजा प्राप्त हुने बताएका छन् ।

शुक्रबार धुलिखेल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नीति/नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताएका छन् ।

‘सरोकारवाला निकायसँग छलफल नै नगरी नीति नियम बनाउने चलन छ । अधिकांश नीति नियम बनाउँदा निजी क्षेत्रलाई साक्षीमात्र राख्ने गरिन्छ । यसले गर्दा उक्त नीति नियम कार्यान्वयन पनि हुन सक्दैन र त्यसले चाहेको नतिजा पनि दिन सक्दैन । त्यसैले सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर, उनीहरुलाई सहभागि गराएर नीति नियम बनाउने गरौँ’, उनले भने ।

उनले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास पनि हासिल गर्न सहज हुने बताए ।

उनले कोभिडका कारण बैदेशिक रोजगारीमा गएका श्रमिकहरु घर फर्किने तर जाने क्रम रोकिएको, पर्यटकहरु आउने बन्द भएको तथा मूल्य वृद्धि भई आयातमा धेरै पैसा बाहिरिएको कारण अर्थतन्त्रमा समस्या आएको बताए । तर कोभिड महामारीको समयदेखि सुरुभएको तरलताको समस्या विस्तारै सहज हुदै गएको छ, उनले भने ।

‘कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए । विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानि योग्य पुँजीको अभाव भयो । तर अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ’, उनले भने ।

उनले महासंघकोे तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरु सम्बोधन गरेको बताए ।

‘हामीले प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थ मन्त्री र नेपाल राष्ट्र बैंकको गर्भनरज्यू लगायतलाई बारम्बार हाम्रा समस्याहरु राखेर यसमा सम्बोधन गर्न भनेका छौँ । केही कुराहरु सम्बोधन पनि भएका छन् । अझै धेरै बाँकी छन् । यसमा हामी निरन्तर पैरवी गर्ने नै छौँ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *