पुल निर्माणमा भएको अनियमितता छानबिन गर्न लोसपाको माग – Nepal Press

पुल निर्माणमा भएको अनियमितता छानबिन गर्न लोसपाको माग

जनकपुरधाम । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको टिकुलिया घाटमा पुल निर्माणमा अनियमितता भएको भन्दै छानबिन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशले माग गरेको छ ।

लोसपा प्रदेश अध्यक्ष जीतेन्द्र सोनलले विज्ञप्तिमार्फत सो पुल निर्माणमा अनियमितता भएकोले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पुल निर्माण गर्न १० वर्ष अगाडि कार्य प्रारम्भ गरिए पनि निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको गैरजिम्मेवारपूर्ण शैलीको कारण पुल हालसम्म अलपत्र अवस्थामा छ ।’

पुल निर्माण नहुँदा आवतजावतमा असहजताका साथै बेलाबखत दुर्घटना भई स्थानीयले ज्यानसमेत गुमाउनुपरेको विडम्बनापूर्ण परिस्थिति कायमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

१० वर्षमा पनि पुल निर्माण नगरी अनियमितता गर्ने ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न पत्रकार सञ्जय सहनी तीन दिनदेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि लोसपा प्रदेश अध्यक्ष तथा सांसद सोनलले पनि अनसनमा समर्थन जनाउँदै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर