बेपत्ता तथा सहिद परिवारको प्रश्न- कहिलेसम्म न्याय र सहयोगको भीख माग्ने ? – Nepal Press

बेपत्ता तथा सहिद परिवारको प्रश्न- कहिलेसम्म न्याय र सहयोगको भीख माग्ने ?

रुपन्देही । माओवादी आन्दोलनमा बेपत्ता र सहिद बनाइएका परिवारका सदस्यहरुले दशकौं समय बित्दा पनि पार्टी र सरकारबाट कुनै सहानुभूति पाउन नसकेको गुनासो गरेका छन् ।

उनीहरुले माओवादी आन्दोलनको नेतृत्व गरेको पार्टी पटक पटक सरकारमा गएपनि आन्दोलनका क्रममा उठाइएका मागहरु सम्बोधन नभएको बताएका छन् ।

नेतृत्वमा आएको विचलन र व्यक्तिको स्वार्थका कारण पार्टी विभाजन भएकाले आन्दोलन झन् कमजोर भएको बताउँदै उनीहरुले विभाजित पार्टीबाट पीडितका माग सम्बोधन हुन नसक्ने भन्दै नेतृत्वलाई एकताका लागि आव्शान गरेका छन् ।

२० वर्षअघि श्रीमान वेपत्ता भएका सावित्रा दुराले सशस्त्र युद्धको बेला राज्यद्वारा वेपत्ता व्यक्तिहरुको सार्वजनिक गर्न माग गरेकी छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की पोलिटब्युरो सदस्य समेत रहेकी दुराले युद्धका क्रममा एक हजार ९६ जना वेपत्ता भएको पार्टीमा तथ्यांक रहेको बताइन् ।

आफ्ना पति अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पुर्ण पौडेल २०५९ साल बैसाख १३ गतेदेखि वेपत्ता भएको उल्लेख गर्दै उनले दुराले वेपत्ताहरुको अवस्था सार्वजनिक नहुँदा परिवारजन पीडामा बांच्न वाध्य भएको बताइन् ।

‘राज्यले वेपत्ताको कि सास दिनुप¥यो कि लाश दिनुपर्यो’-दुराले भने-‘एकजना हैन दुईजना हैन झण्डै एघार सय जना नागरिक वेपत्ता छन्, यति ठूलो संख्यामा देशका नागरिक वेपत्ता हुंदा उनीहरुका परिवारप्रति सरकार संवेदनशील हुनुपर्दैन ?’
नेतृ दुराले वेपत्ता व्यक्तिका परिवारहरु जिविकोपार्जन,शिक्षा दिक्षा र रोजगारी जस्ता वहुआयामिक समस्याबाट गुज्रिन वाध्य भएको बताइन् ।

सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपनि उनी नङग्राविनाको बाघजस्तै खोक्रो भएको टिप्पणी गर्दै उनी नेतृत्वको सरकारले वेपत्ता र शहीद परिवारका समस्या समाधानमा चासो नराखेको बताइन् ।

माओवादी केन्द्र संसदीय भासबाट बाहिर आएर सबै पूर्व माओवादीहरु एक भएर वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापनाबाट मात्र नागरिकका समस्या समाधान हुने बताइन् ।

०६१ मंसिर २५ मा नेपाली सेनाबाट पति मारिएकी बुटवलकी जया पौडेलले माओवादी युद्धमा मारिएकालाई सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिनुपर्ने बताइन् ।

सरकारले दिएको १० लाखले युद्धमा ज्यान गुमाएकाको परिवारको जिविकोपार्जन हुन नसक्ने उनले गुनसो गरिन् । ‘सरकारले शहीद परिवारको जिविकोपार्जन, रोजगारी र बच्चाहरुको शिक्षादिक्षामा कुनै चासो दिएको छैन’–उनले भनिन् ।

पार्टीमा केही व्यक्तिको लोभका कारण विभाजित अवस्थामा पुगेर माओवादी आन्दोलन कमजोर भएको बताउँदै उनले एकीकृत आन्दोलनबाट मात्रै त्यो माग पूरा हुनसक्ने बताएकी छन् ।

माओवादी आन्दोलनमा लागेकाहरु धेरै लोभमा परेका कारण अहिलेको अवस्था आएको बताउँदै उनले आन्दोलनका वास्तविक पीडितहरुको आवाजलाई सम्बोधन गर्न आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर