यातायात मजदुर संगठनले अल्टिमेटम र आन्दोलनबारे गराए जानकारी (भिडिओ) – Nepal Press

यातायात मजदुर संगठनले अल्टिमेटम र आन्दोलनबारे गराए जानकारी (भिडिओ)

काठमाडौं । सार्वजनिक यातायात सुधारको विभिन्न माग राख्दै यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरूले सुरू गर्न लागेको संयुक्त आन्दोलनबारे जानकारी गराएका छन् ।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्तरूपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफैँ ऐनविपरीत चालकहरूको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले सवारीसाधनको २० वर्षे उमेरहद राखेर मोटर बिक्रेता विदेशी कम्पनीलाई खुसी पार्दै कमिसनको खेलमा लागेको आरोपसमेत लगाए । भारतीय ढुवानीका साधनहरूले नेपालका विभिन्न सहरमा सीधै ढुवानी गरेपछि नेपालका ढुवानी गर्ने साधनहरू विस्थापित हुँदै जाँदा पनि सरकार मौन रहेको, प्रयोजनविपरीतका सवारीसाधनहरूले यात्रु ओसारपसार गरिरहँदा पनि बेवास्ता गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

आफूहरूको मागका विषयमा गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १० बुँदे मागपत्र पेश गर्दै १५ दिने अल्टिमेटम दिएको र फागुन २ गतेसम्म आफूहरूको माग पूरा नभए निर्णायक आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।

ट्रेड युनियन संघहरू, यातायात स्वरोजगार तथा व्यवसायीहरू आफ्ना सम्पूर्ण सेवा रोकेर, सडकमा प्रदर्शन गरेर आन्दोलन गर्ने यातायात श्रमिक संगठनले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *