यातायात व्यवस्था विभागको महानिर्देशकमा तुल्सीनाथ गौतम नियुक्त


काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव तुल्सीनाथ गौतमलाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत गौतमलाई महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । उनले वुधबार विभागमा पदबहालीसमेत गरिसकेका छन् ।
विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका डा. टोकराज पाण्डेयको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त भएको थियो । पाण्डेयले २०७९ भदौ २० गते महानिर्देशकको जिम्मेवारी सम्हालेकाले ६ महिनामा नै केही दिन अघि सरुवा भएको थियो ।
पाण्डेय भन्दा अघि महानिर्देशकको जिम्मेवारी पाएका सुरेश राउत २ महिनामा नै सरुवा भएका थिए । राउतले २०७९ असार २० गते जिम्मेवारी सम्हालेका थिए भने २०७९ भदौ २० गते सरुवा भएका थिए ।
त्यसअघिका महानिर्देशक नमराज घिमिरेले एक वर्ष भन्दा बढी समय विभागमा महानिर्देशकको जिम्मेवारीमा बसेपछि त्यसपछिका २ महानिर्देशकले ६ महिना पनि जिम्मेवारी सम्हाल्ने मौका पाएका छैनन् ।