धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टीकरण, काम गर्दा मेरो चरित्र हत्या गर्न खोजियो – Nepal Press

धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टीकरण, काम गर्दा मेरो चरित्र हत्या गर्न खोजियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नियोजित रुपमा आफ्नोविरुद्ध केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले बोर्डमा अध्यक्ष भएर आएपछि राम्रो काम गर्दा पनि केही मिडियाले भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाएका छन् ।

अध्यक्ष हमालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले गरेको १० बुँदे कामसमेत सार्वजनिक गरेका हुन् । ‘लामो समयदेखि रहन गएको नेतृत्वविहीनको अवस्थालाई चिर्दै लगानी एवं व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दै २०७८ फागुनमा सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा मलाई नियुक्त गरेको कुरा यहाँहरु सबैलाई विदितै छ । तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुवात गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो’, अध्यक्ष हमालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हमालले सार्वजनिक गरेको १० बुँदे काम काम

१. लगानीकर्ताहरुले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधासहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आवद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको छ ।

२. सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोबार वर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहनेलगायतका समस्या रहेकोमा ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकापसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस नीतिअनुरुप १५ दिनभन्दा बढी कारबार रोक्का नरहने व्यवस्थासमेत लागू गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागि दिइएको निवेदनउपर आवश्यक छानबिन गरी बढीमा ३ दिनभित्र स्वीकृति दिने व्यवस्था लागू गरिसकिएको छ ।

३. सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिँदै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा १०० (एक सय) सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

४. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्काशनमा १० प्रतिशत शेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय सञ्चितीमा सहयोग पुगेको छ । यस व्यवस्थाले हुण्डीमार्फत हुने कारोबार निरुत्साहित हुने सम्भावना प्रवल देखिन्छ ।

५. नवीनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपूँजी एवं धितो सुरक्षण नभएका स्टार्ट अपका लागि पूँजी तथा व्यवसायिक ज्ञान विनाधितो दिन मिल्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकलाई अनुमतिपत्र जारी गरिएको ।

६. धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा ‘कोटा प्रणालीमार्फत अनुमति प्रदान गरिँदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ओपन इन्ट्री एण्ड एक्जिट’ नीतिमार्फत मापदण्ड पुग्ने सबैलाई ३५ दिनभित्र सीमा समय तोकी अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णयअनुसार नियमावली स्वीकृति गराई आवेदन आह्वान गरिएकोमा सम्मानीत सर्वोच्च अदालतबाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको ।

७. धितोपत्र बजारमा लगानीकर्ताको पहुँच वृद्धि सँगसँगै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारका लागि आवश्यक आवेदन कार्य अगाडि बढाइएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालीन आदेशबमोजिम सोसम्बन्धी कार्य हाल स्थगनमा रहेको ।

८. वस्तु विनिमय संयन्त्र विकासका लागि आवश्यक कार्य अगाडि बढाइएको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ तथा वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ जारी भएको पाँच वर्षसम्म पनि यससम्बन्धी आवश्यक कार्य अगाडि नबढिरहेको अवस्थामा वस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९।०६।०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालीन आदेशबमोजिम सोसम्बन्धी कार्य स्थगन गरिएको छ ।

९. धितोपत्रसम्बन्धी कसूरहरुमा संगठित संस्थाका सञ्चालकहरुलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।

१०. धितोपत्रसम्बन्धी ऐन र सोअन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावलीअनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियमअनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचित गरिएको । त्यस्तै क्रेडिट रेटिङ्गमा स्वार्थको द्वन्द्व देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर