राष्ट्रियसभा उपाध्यक्षमा अनुभवी उर्मिला, राजनीतिक समाजशास्त्रकी ज्ञाता – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षमा अनुभवी उर्मिला, राजनीतिक समाजशास्त्रकी ज्ञाता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रबाट मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य निर्वाचित हुने उनी दोस्रो उपाध्यक्ष हुन् । यसअघि पनि नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

अर्याल २०१३ साल असोज २० गते जगरनाथपुर गाउँपालिका- ५ मसिहानी, पर्सामा जन्मिएकी हुन् । उनका बुवा बलराम र आमा जगतमाया अर्याल हुन् । हाल उनी पर्साको वीरगञ्ज महानगरपालिका- २३ गण्डक चोकमा बस्दै आएकी छन् ।

अस्थायी रुपमा बुढानिलकण्ठ नगरपालिका- ४, रुद्रेश्वर काठमाडौंमा बसोबास गर्ने उनका श्रीमान डा.यमबहादुर थापासँगै एक छोरी र एक छोरा रहेका छन् ।

अर्यालले भारतको पञ्जाबस्थित रिम्टस् विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रमा विद्यावारिधि गरिरहेकी छन् । उनले भारतकै इन्दिरा गान्धी विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसमेत गरेकी थिइन् ।

२०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिबाट उनले राजनीतिक यात्रा सुरु गरेकी हुन् । २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त गरेपछि २०३५ साल चैत्रमा तत्कालीन नेकपा चौम जिल्ला कमिटी सदस्य बनिन् । २०३६ सालमा तत्कालीन चौमअन्तर्गत अखिल नेपाल महिला संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य बनिन् ।

२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित भएकी अर्याल २०३८ सालमा तत्कालीन चौमअन्तर्गत अयोध्यामा भएको अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलनबाट प्रथम अध्यक्ष निर्वाचितसमेत भएकी थिइन् ।

२०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता गरेकी अर्यालले २०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे भारतको दिल्लीमा अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षतासमेत गरेकी थिइन् ।

त्यसपछि २०४६ सालमा अर्याल नेकपा एमालेमा प्रवेश गरिन् । २०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित हुँदै सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । २०४८ र २०५१ मा भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा जिल्ला क्षेत्र नं ४ मा उम्मेदवारी दिएकी उनी उपविजेता बनिन् ।

२०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्षको जिम्मेवारी पूरा गरेकी अर्याल २०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । २०५९ माघको सातौं महाधिवेशनबाट नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएकी उनी २०५८ देखि २०६३ सालसम्म रुरल एण्ड इन्डिजिनियस वुमन टास्कफोर्स अफ एसिया प्यासिफिक फोरम अन वुमन ल एण्ड डेप्लमेन्ट स्टेरिङ कमिटी सदस्य बनेकी थिइन् ।

२०६३ चैत्र १० देखि २०६४ जेठ १० गतेसम्म महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेकी अर्याल २०६५ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट नेकपा एमालेको केन्द्रीय सदस्य तथा पोलिटव्युरो सदस्य निर्वाचित भएकी थिइन् । सन् २००९ नोभेम्बरमा वर्कर्स पार्टी अफ बंगलादेशको आठौं महाधिवेशनमा प्रतिनिधित्व गरी नेकपा एमालेबाट शुभकामना सन्देश दिएकी थिइन् ।

२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष बनेकी उनी २०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म स्थानीय विकास मन्त्रीसमेत बनेकी थिइन् । अर्यालले विभिन्न समयमा नेकपा एमाले पार्टी स्कूल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

२०७० जेठ ४ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी अर्याल अहिले पार्टीको स्थायी कमिटी सदस्य छन् । उनी माओवादीबाट २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

अर्यालको महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) पुस्तक प्रकाशित छ । विभिन्न जर्नलमा उनका आर्थिक विकासको विषयमा अनुसन्धानमूलक लेख प्रकाशित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर