रामवरणको उदाहरण दिँदै विश्वप्रकाशले भने- हाम्रै उम्मेदवार राष्ट्रपति बन्नु हुन्छ (भिडिओ) – Nepal Press

रामवरणको उदाहरण दिँदै विश्वप्रकाशले भने- हाम्रै उम्मेदवार राष्ट्रपति बन्नु हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् ।

आइतबार संघीय संसद भवन परिसरमा बोल्दै उनले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताएका हुन् । महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

आफ्नो पार्टी विपक्ष दल भएकै बेला डा. रामवरण यादव राष्ट्रपति बनेको स्मरण गराउँदै उनले अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क गरे ।

‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरी त्यसलाई लोकतान्त्रिक अभ्यासको रुपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ’, महामन्त्री शर्माले भने, ‘म के सार्वजनिक रूपमा सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने-विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत गर्‍यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुन्थ्यो । नेपाली कांग्रेस पार्टी विपक्षमा थियो ।’

शर्माले सत्तारुढ दलहरूप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर