आर्थिक संकटमा करोडौँ खर्चको स्वतन्त्रता दिवस मनाएको भन्दै श्रीलङ्कामा प्रदर्शन – Nepal Press

आर्थिक संकटमा करोडौँ खर्चको स्वतन्त्रता दिवस मनाएको भन्दै श्रीलङ्कामा प्रदर्शन

काठमाडौँ । आज श्रीलङ्का सरकारले बेलायतको उपनिवेशबाट स्वतन्त्र मुलुक भएको ७५ औँ वर्षगाँठ भव्य रूपमा मनायो । तर, यो भव्यता श्रीलंकाका सर्वसाधारणले भने मनाएनन् । बरु उनीहरूले सरकारले अनावश्यक बजेट खर्च गरेर तामझामको साथ दिवस मनाएकोमा आक्रोशित भएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार श्रीलंकाका आज प्रदर्शन भएको थियो । जर्मनीको सरकारी विश्व समाचार च्यानल डिडब्लुका अनुसार समारोहको लागी श्रीलङ्का सरकारले ५ लाख ४८ हजार अमेरिकी डलर खर्च गरेको छ ।

देशमा धेरैले तनावग्रस्त आर्थिक संकट भोगेको अवस्थामा यस्तो तामझाम बनाइएकोमा सर्वसाधारणले आक्रोश पोखेको डिडब्लुले उल्लेख गरेको छ ।

आक्रोश श्रीलंकाका मात्रै पोखिएको छैन । श्रीलंकाका तामिल समुदायका प्रदर्शनकारीहरूले लन्डन देखी अस्ट्रेलियासम्ममा आफ्नो आक्रोश पोखेका छन् ।

अलजजिराका अनुसार श्रीलंकाका बौद्ध भिक्षु देखी इसाई पादरीहरूले समारोह बहिष्कार गरेका थिए भने अभियानकर्मी तथा अधिकारकर्मीहरूले आक्रोश पोखेका थिए ।

आम आक्रोशका बिचमा जलसेनाले समुद्रमा सफर गरेको र हवाई सेनाले आकाशमा सैन्य जहाजहरू उडाएको अलजजिराले उल्लेख गरेको छ ।

अलजजिराका अनुसार श्रीलंकाको वैदेशिक ऋण ५१ अर्ब अमेरिकी डलर हाराहारी छ जसमा २८ अर्ब अमेरिकी डलर सन २०२७ भित्रै तिरिसक्नुपर्नेछ ।

शुक्रवारै संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले श्रीलङ्का संकटको कारणले एक तिहाइ बालबालिकाहरूलाई मानवीय सहायता आवश्यक भएको देखाएको छ ।

सन १९४८ मा बेलायतबाट स्वतन्त्रता पाएको श्रीलंकाले आफ्नो औपचारिक समारोहमा विभिन्न देशका उच्चपदस्थ व्याक्तिहरुलाई निमन्त्रणा गरेको थियो ।

नेपालबाट कार्यक्रममा परराष्ट्रमन्त्री डाक्टर विमला राई पौड्याल सहभागी भएकी थिइन । उनी चार दिने भ्रमणका लागी बिहीबार श्रीलङ्का अवतरण भएकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर