मन्त्री किराँतीद्वारा मायादेवी मन्दिरको दर्शन


रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शनिवार साँझ लुम्बिनीस्थित गौतमबुद्व जन्मस्थल मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका किराँतीले मायादेवी मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदीप क्षेत्रको जानकारी तथा अवलोकन गरेका हुन् । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी र बुद्धका बारेमा मन्त्रीलाई जानकारी गराए । मन्त्रीले मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।
मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भइरहेका काम र बुद्ध जन्मस्थलको इतिहास, पर्यटकका लागि दिइने सुविधाका बारेमा चासो राखेका थिए ।
मन्त्रीको अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयसहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य, परिषद् सदस्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख हरि ध्वज राईले यहाँको अवस्थाका बारेमा जानकारी गराएका थिए ।