मधेस प्रदेश : पार्टीबाट विद्रोह गरेर चुनाव जितेका साह र सिंह बने मन्त्री – Nepal Press

मधेस प्रदेश : पार्टीबाट विद्रोह गरेर चुनाव जितेका साह र सिंह बने मन्त्री

जनकपुरधाम । पार्टीबाट विद्रोह गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका सुरिता साह र शत्रुधन प्रसाद सिंह मन्त्री बन्न सफल भएका छन् ।

सुरिता २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महोत्तरी २ (२) मा निर्वाचित भएकी थिइन् । पछि राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता भएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो । साह पनि जसपामा पुगिन् ।

जसपाबाट महन्थ ठाकुरले पुनः अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । साह पनि लोसपा रोजिन् । उनी राजेन्द्र महतो निकट मानिन्छिन् ।

२०७९ सालको चुनावमा भने लोसपाले उनलाई पत्याएन । पार्टीले अर्कैलाई टिकट दिएपछि साहले लोसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिइन् । उनी चुनाव जित्न सफल पनि भइन् । प्रदेशसभामा दोस्रो पटक प्रवेश पाएकी उनी केही दिनअगाडि मात्र उपेन्द्र यादवबाट टीका थापेर जसपामा प्रवेश गरेकी थिइन् ।

जसपाले उनलाई सामाजिक विकास मन्त्रालय सुम्पेको छ । स्वतन्त्र सांसद रहेकै बेला उनले जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई समर्थन गरेकी थिइन् । त्यसपछि जसपाले उनलाई मन्त्री बनाउने सर्तमा पार्टी प्रवेश गराएको थियो ।

उनी जस्तै भाग्यशाली बने सिरहाका शत्रुधन प्रसाद सिंह । सिंह सिरहा क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेबाट निर्वाचित सांसद हुन् । उनलाई एमालेले आज गृह तथा सञ्चार राज्यमन्त्री बनाएको छ ।

मधेस आन्दोलनबाट उदाएका उनी २०६४ मा पहिलो संविधानसभा सदस्यमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । त्यतिबेला पार्टी फोडेर विजय गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गर्दा सिंह पनि गच्छदारतिरै लागेका थिए । सो पार्टीबाटै पर्यटन राज्यमन्त्री बन्न उनी सफल भएका थिए ।

गच्छदारले पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएपछि सिंह उपेन्द्र यादवको पार्टीमा प्रवेश गरेका थिए । २०७४ मा सिरहा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवकै पार्टीबाट निर्वाचन लडे । तर, जित्न सकेनन् ।

२०७९ सालमा पनि उनी प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीमा थिए । तर, जसपाले सिरहा क्षेत्र नम्बर २ मा राजकिशोर यादवलाई टिकट दियो । त्यसपछि असन्तुष्ट बनेका उनी नेकपा एमालेमा प्रवेश गरे । एमालेले प्रदेशसभाको टिकट दियो र चुनाव लडे ।

चुनाव जित्न सफल सिंह एमालेको मधेस प्रदेशको संसदीय दलका नेताका दावेदार थिए । एमालेले भने सरोजकुमार यादवलाई दलको नेता बनायो । त्यसपछि उनले मन्त्री बन्ने आकांक्षा राखे । अहिले उनको आकांक्षा पूरा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर