तरकारी फ्याँक्ने चितवनका किसानलाई रविको सन्देश : यो दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्ने छौं


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानले गरेको उत्पादन मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताए । उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन् ।
‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन, बजार छैन’, लामिछानेले लेखेका छन्, ‘किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मुल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं ।’
उनले आगामी हुने उपनिर्वाचनमा आफू उम्मेदवार हुने संकेत गर्दै चितवनबासीलाई पुनः भेट हुने उल्लेख गरे । चितवन २ बाट प्रतिनिधिसभा सांसद बनेर रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्री बने । तर उनी नागरिकता मुद्दामा दोषी ठहर भएपछि सांसद, मन्त्री र पार्टीको अध्यक्ष पनि गुमाएका थिए ।
फेरि नागरिकता लिएर अहिले उनी पुनः गृहमन्त्री बन्न प्रयास गरिरहेका छन् ।