ठूलो चुनौतीमा उभिएर अर्थतन्त्र उकास्ने अठोट गरेको छु : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

ठूलो चुनौतीमा उभिएर अर्थतन्त्र उकास्ने अठोट गरेको छु : प्रधानमन्त्री प्रचण्ड

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेरमात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेकाले आफूले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको बताए ।

‘मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, उनले भने ।

उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएकाले निकै ठूलो जिम्मेवारी र चुनौती रहेको बताए । विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न नसकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेरमात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’

उक्त भवन जनवादी गणतन्त्र चीनको सहयोगमा निर्माण भएको हो ।

उनले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो खुशी र गौरवको कुरा हो । यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको उनको भनाइ छ ।

उनले भने, ‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखमा म तपाईंहरूको साथसाथै छु । जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनाशलगायतका सबै पीडामा म तपाईंहरू सँगसँगै छु । म तपाईंहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुशी महसुस गरेको छु । आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरूकै साथमा हुनेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर