तेस्रोपटक सारियो माओवादी स्थायी कमिटीको बैठक


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुन: सारिएको छ । योसहित तेस्रोपटक बैठक सारिएको हो ।
अहिले ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्ताको कारणले शुक्रबार ३ बजे गरी सरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको थियो । पछिल्लो समय रिक्त गृहमन्त्रालयमा रवि लामिछानेको पुनर्नियुक्तिको मागलाई लिएर राजनीतिक माहौल तातेको छ । प्रचण्ड रविलाई गृहमा फर्काउन सकारात्मक छैनन । यसले गठबन्धनमा समेत तिक्तताको लक्षण देखिएको छ ।
राष्ट्रपतिको निर्वाचन, रिक्त गृहमन्त्रालयको पूर्ति, स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजनलगायको विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ । विभिन्न विभागहरूलाई पूर्णता दिने पनि माओवादी तयारी छ ।
प्रचण्डले हिजो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग पनि छलफल गरेका थिए ।