यातायात व्यवसायीले सम्झाए विभागका महानिर्देशकलाई १५ दिने अल्टिमेटम – Nepal Press

यातायात व्यवसायीले सम्झाए विभागका महानिर्देशकलाई १५ दिने अल्टिमेटम

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेलाई यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका छन् ।

आज बिहान तीनवटै यातायात संगठनका नेतृत्वले विभागमै भेटेर मन्त्रीलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका हुन् ।

सरकारलाई दिएको १५ दिनको समय फागुन २ गते सकिदैँछ । यस बीचमा माग सम्बोधन भए निर्धारित कार्यक्रम फेरबदल हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

उनले भने,‘यातायात सेवा बन्द गर्ने चाहना हाम्रो होइन । तर, राज्यका संरचनाहरु मजदुर दमनमा उत्रिएपछि अन्तिम विकल्पका रुपमा काम रोकेर आन्दोलनमा जाने निर्णय गर्नु परेको हो ।’

फागुन २ गतेभित्र माग सम्बोधन नभए ३ गतेदेखि देशभरीका श्रमिक, स्वरोजगार व्यवसायी र व्यवसायीहरु सम्पूर्ण सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर आन्दोलनमा जानु पर्ने विषय नेतृत्वले यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेलाई सुझाएका छन् ।

आफ्ना माग १५ दिनभित्र पूरा नभए यातायात ठप्प पार्ने चेतावनी दिएका मजदुर संघ संगठनहरुले बुधबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको ध्यानकर्षण गराएका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईको टोलीले अर्थमन्त्री पौडेलसँग मन्त्रालयमा भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।
माग पूरा नभए आन्दोलन गर्ने तथा यातायात ठप्प हुँदा एकै दिनमा अर्बौं घाटा हुने भन्दै सरकारलाई सडकको रोदन सुन्नु पर्ने संगठनले आग्रह गरेको संगठनका अध्यक्ष राईले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर