विराटनगरमा हृदयेन्द्र पार्कलाई अत्याधुनिक बनाइने


विराटनगर । विराटनगर महानगरपालिकाले हृदयेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने भएको छ ।
विराटनगर १ मा बन्ने पार्कका लागि महानगरले अध्ययन प्रतिवेदन तयार पारेको छ । सो पार्क निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
६ कट्ठा क्षेत्रफलमा फैलिने पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङपुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछ ।
महानगरका मेयर नागेश कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताए ।
कोइरालाले १० दिनभित्र पार्कको अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशन समेत दिए । प्रतिवेदनले अन्तिम रूप लिएपछि ठेक्का प्रक्रियामा गएर निर्माण सुरु हुनेछ ।
योजना महाशाखा प्रमुख भरत न्यौपाने, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतले अध्ययन प्रतिवेदनलाई केही परिमार्जन गर्न सुझाव दिए ।