बबई सिंचाइ आयोजना : ३२ वर्षअघि २ अर्बमा सक्ने भनिएकोमा १२ अर्ब खर्च, अझै छैन सम्पन्न हुने टुंगो – Nepal Press

बबई सिंचाइ आयोजना : ३२ वर्षअघि २ अर्बमा सक्ने भनिएकोमा १२ अर्ब खर्च, अझै छैन सम्पन्न हुने टुंगो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा सबैभन्दा पुरानो हो बबई सिंचाइ आयोजना । यसको ३३ वर्षअघि निर्माण सुरु भएको हो । आर्थिक वर्ष २०४५/४६ मा निर्माण सुरु भएको आयोजनालाई आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिएको थियो ।

पटक-पटक म्याद थप्दै पछिल्लो समय छैटाैं पटकको म्याद थपपछि आर्थिक वर्ष २०८२/८३ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ । सुरुमा आयोजना २ अर्ब ७ करोड रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको थियो । अहिले लागत बढेर १८ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर १८ अर्ब भनिए पनि यसको निर्माण सकिने समयसम्म करिब २६ अर्ब रुपैयाँ लाग्ने बताउँछन् आयोजना प्रमुख नवीनचन्द्र अधिकारी ।

हालसम्म बबई सिंचाइ आयोजनामा करिब १२ अर्ब खर्च भएको उनको भनाइ छ । यसको हालसम्मको भौतिक प्रगति ६४ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५८.८४ प्रतिशत छ ।

सरकारले चालू आर्थिक वर्षमा १ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा १ अर्ब ५० करोड पूँजीगत खर्च र २ करोड ४० लाख रुपैयाँ चालू खर्च शीर्षकमा छुट्याइएको छ । ६ महिनामा ३० करोड खर्च गर्ने लक्ष्य दिएकोमा पुससम्म लक्ष्यभन्दा बढी ३० करोड ८५ लाख रुपैयाँ खर्च भएको आयोजना प्रमुख अधिकारीले नेपालप्रेसलाई जानकारी दिए ।

‘सुरुसुरुमा आयोजनाकै कारण ढिला भए पनि अब समस्या नभएको र सरकारले पुग्ने गरी बजेट विनियोजन गरे समयमै सकिन्छ । चालू आर्थिक वर्षको जस्तो बजेट दिए सकिन लामो समय लाग्छ’, उनी भन्छन्, ‘प्रोजेक्ट अब ३६ प्रतिशत बन्न बाँकी छ । यसका लागि पनि वार्षिक बजेट बढाउनुपर्ने हुन्छ ।’

वर्षको सात महिना पानी सञ्चालन गर्न दिनुपर्ने भएकाले आयोजनाले वार्षिक लक्ष्यअनुसार काम गर्न नसकेको उनले बताए । बाँकी पाँच महिनामात्र निर्माण हुँदा लक्ष्यअनुसार काम हुन नसकेको आयोजनाले जनाएको छ ।

जग्गा प्राप्तिमा सास्ती, राष्ट्रिय निकुञ्जभित्र आयोजना पर्ने भएकाले ढुवानी र आवागमनमा अवरोध हुने गरेको आयोजनाले जनाएको छ ।

बबई सिंचाइको कुल कमाण्ड ३६ हजार हेक्टरमध्ये २३ हजार ६ सय हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुगेको र यो वर्ष बाँकी ३ हजार हेक्टर सुविधा विस्तार भएर २६ हजार ६ सय पुग्ने अनुमान गरिएको छ ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ पुर्‍याउने उद्देश्यले आयोजना सुरु गरिएको थियो । सरकारको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) को संलग्नतामा २०२४ सालदेखि आयोजनाको अध्ययन भएको थियो । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा भएको थियो ।

सिंचाइ सुविधा दिएर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्य लिएर राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको बबईमा पटक पटक म्याद थप गर्दा लागत बढेको बढेयै छ । छैटौं पटक थपिएको म्याद २०८२/८३ सम्म पनि निर्माण सकिनेमा आयोजना आफैं ढुक्क छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *