सडकबाट पार्किङ हटाएको भन्दै विराटनगरका व्यापारी आन्दोलनमा


विराटनगर । विराटनगर महानगरपालिकाले सडकमा पार्किङ गर्न नदिएको भन्दै बजार क्षेत्रका व्यापारी आन्दोलनमा उत्रिएका छन् ।
महानगरले अव्यवस्थित पार्किङ व्यवस्थापन थालेसँगै बजार क्षेत्रका व्यापारीहरुले विरोधस्वरुप सटर झारेर आन्दोलन थालेका हुन् ।
व्यापारीले मार्किङ गरेर सडकमै पार्किङ गर्न दिइनुपर्ने माग गरेका छन् । बजार क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यापार घटेको र ग्राहक नआएको उनीहरुको गुनासो छ ।
पार्किङस्थलको व्यवस्था नगरी महानगरले पार्किङ निषेध गरेकाले आफूहरु मारमा परेको व्यवसायी सन्तोष अधिकारी बताउँछन् ।
महानगरले पार्किङ व्यवस्थापन गर्न भन्दै हनुमानदास रोड र रंगेली रोडलाई माघ ५ गतेदेखि नो पार्किङ जोन बनाएको छ ।
कोसी राजमार्गसँग जोडिएको शनि मन्दिरदेखि जलजला चौकसम्मको हनुमानदास रोड र जलजला चौकदेखि हस्पिटल चौकसम्मको रंगेली रोडमा सबै प्रकारका सवारीसाधनको पार्किङ निषेध गरिएको छ ।
ट्राफिक चौकदेखि जलजला चौक क्षेत्रको सडकका दुवै भागमा दुई वर्ष अघि नै पार्किङ निषेध गरिएको थियो ।