सत्ता गठबन्धनमा खटपटको हल्लाले पूँजी बजारमा पहिरो, नेप्से परिसूचकमा ४१ अंकको गिरावट – Nepal Press

सत्ता गठबन्धनमा खटपटको हल्लाले पूँजी बजारमा पहिरो, नेप्से परिसूचकमा ४१ अंकको गिरावट

काठमाडौं । सत्ता साझेदार दलहरुबीच खटपटको हल्लाले पूँजी बजारमा पहिरो गएको छ । रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड असहमत रहेको र राष्ट्रपति चुनावमा वर्तमान सत्ता समीकरण तलमाथि हुने हल्लाको प्रभाव शेयर बजारमा परेको हो ।

एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेपछि पूँजी बजारमा उल्लेख्य सुधार आएको थियो । प्रचण्ड सरकार बनेपछि निरन्तर उकालो लागेको बजार समीकरणमा खटपट भएको हल्लाकै कारण प्रभावित बनेको स्टक ब्रोकरहरु बताउँछन् ।

सोमबारको गिरावट यो सरकार बनेयताकै सबैभन्दा निराशाजनक हो । सोमबार शेयर बजारमा ठूलो गिरावट आएको हो । कारोबार सुरु हुँदा ११ः०४ बजे बजार २१७४.६६ विन्दुसम्म पुगेको थियो । त्यसपछि ११ः४१ मा बजार घटेर २१५८.४८ विन्दुमा पुग्यो ।

त्यसपछि बजार २१६८ विन्दुसम्म फर्कियो । आज निकै उत्तारचढाव देखिएको बजार कारोबार रोकिने वेलामा फराकिलो अंकले (४१.०१) घटेर बन्द भएको छ । बजार २१२७.५२ विन्दुमा अडिएको छ ।

यस दिन ३ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार हुनुअघि प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको थियो । आज सबै समूहमा गिरावट आएको छ ।

बजार समग्रमा १.८९ प्रतिशतले घटेको हो । यद्यपि लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ । य्नाइटेड इदि मार्दी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर र सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर मूल्य भने सर्वाधिक घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर