चार देशका पाहुनालाई धनकुटा सरकार र स्थानीयको भव्य स्वागत (भिडिओ) – Nepal Press

चार देशका पाहुनालाई धनकुटा सरकार र स्थानीयको भव्य स्वागत (भिडिओ)

धनकुटा । धनकुटा बजार आएका चार देशका पर्यटकलाई धनकुटा नगरपालिका र स्थानीयले भव्य स्वागत गरेका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को पाटाको डेस्टिनेसन मार्केटिङ कन्क्लेभको अवसरमा पाटाको ६० सदस्य नेपाल, भारत, बाङ्लादेश र अमेरिकी आगन्तुक शनिबार धनकुटा बजार आइपुगेका थिए ।

मेयर चिन्तन तामाङले आगन्तुकलाई स्वागत गरे । इसिमोडसमेतको सहयोग भएको पाटाको कार्यक्रममा धनकुटाका आठपहरिया राई र नेवार समुदायले आगन्तुकलाई आफ्नो संस्कृति र खानपिनले मौलिकताका साथ स्वागत गरेका थिए ।

पर्यटकलाई धनकुटाको कला क्षेत्रको स्थापित संस्था धनकुटा बहुमुखी पाठशालाले सन्ध्याकालीन रैथाने आदिवासीका गीत र नृत्यको कोसेली पस्कियो । स्थानीय सरकारले आइतबार गरेको कार्यक्रममा आगन्तुकलाई धनकुटाका मौलिक परिकार उपहार दिएका थिए ।

मेयर तामाङले सुन्तला, एभोकाडोदेखि धनकुटे बिस्कुट र स्थानीय उत्पादन ढाकिमा उपहारस्वरूप दिए ।

‘तपाईंहरूको आगमनले धनकुटाको पर्यटनमा नतिजाको आशा पलाएको भन्दै तामाङले भने, ‘आफ्नो- आफ्नो देश र संस्थाबाट धनकुटाको पर्यटन क्षेत्रमा सहयोग गर्दिनुहोला ।’

धनकुटाको आतिथ्यबाट आगन्तुकहरू खुशी देखिए ।

बाङ्लादेशबाट आएका ताउफिक रहमानले भने, ‘एउटा सहरमा यस्तो सुन्दर संस्कृति र परिकार भएको जान्न पाउँदा खुशी लाग्यो। अब नेपालमा बाङ्लादेशबाट सडक हुँदै पर्यटक ल्याउन सबैले पहल गर्नुपर्छ । नेपाल र बाङ्लादेश धेरै नजिकका छिमेकी भएकोले चाहेमा गर्न सकिन्छ ।’

तस्बिर/भिडिओ : विराट अनुपम । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *