नागरिकता पाएसँगै रविले किन फिर्ता गरे राहदानी ?


काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्त गर्नासाथ आफ्नो राहदानी राज्यलाई फिर्ता गरिदिएका छन् । उनी जिप्रका काठमाडौंबाट सीधै राहदानी विभाग पुगेर त्यहाँका कर्मचारीलाई आफ्नो राहदानी जिम्मा लगाएका थिए ।
सर्वोच्च अदालतले शुक्रबार रविको नागरिकतासम्बन्धी मुद्दामा फैसला सुनाएको थियो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि आवश्यक कानूनी प्रक्रिया नअपनाएको भन्दै अदालतले उनको संसद पद कायम नरहने निर्णय गरेको छ । फैसलामा उनको पुरानो नागरिकता कायम नरहेको बताइए पनि राहदानीको विषय उल्लेख थिएन ।
रविले आज लिएको नागरिकतामा जारी मिति नयाँ छ । तर, नम्बर पुरानै छ । यस्तो अवस्थामा पुरानो नागरिकताबाट उनले बनाएका राहदानीलगायतका कागजातहरु के हुन्छन् भन्ने प्रश्न उठ्छ । नयाँ दिएको नभई पुरानै नागरिकतालाई सक्रिय तुल्याइएको हुँदा यसबाट लिइएको राहदानी पनि स्वतः सक्रिय हुने देखिन्छ । तर, रविले भने हतारमा राहदानी फिर्ता गरिदिएका छन् ।
नेपालको कानूनअनुसार कोही पनि नागरिकले आफूले बोकेको राहदानी आवश्यक नलागेमा वा अन्य कुनै कारण भएमा सरकारलाई फिर्ता बुझाउन सक्छन् । राहदानी विभागमा गएर जो-कसैले फिर्ता गर्न सक्ने प्रावधान छ । फिर्ता भएको राहदानीलाई विभागले प्रक्रिया पुर्याएर रद्द गर्छ । रविले आज विभागमा पुगेर ‘पुरानो नागरिकताबाट लिएकाले फिर्ता गरेको’ बताएका थिए । उनले नयाँ राहदानी बनाउन प्रक्रिया थालेका छैनन् ।
राहदानी विभागकी निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले रविको राहदानी विभागले बुझेको बताइन् ।
उनले भनिन्, ‘उहाँले पुरानो नागरिकताअनुसार लिएको भन्दै राहदानी फिर्ता गर्नुभएको छ । अबको प्रक्रिया विभागले अगाडि बढाउँछ ।’
रविका तर्फबाट नागरिकतासम्बन्धी मुद्दामा बहस गरेका वकिल सुनिल शर्मा राहदानी फिर्ता गर्नु रविको स्वेच्छिक निर्णय भएको र अदालतको फैसलासँग सम्बन्धित नरहेको बताउँछन् ।
‘राहदानी फिर्ता जसले पनि गर्न सक्छ । उहाँले फिर्ता गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । यो नागरिकतासम्बन्धी फैसलासँग जोडिएको कुरा होइन’, उनले भने ।
विदेश जानुपर्दाको अवस्थामा नयाँ नागरिकताबाट राहदानी बनाउन कुनै बन्देज नरहने पोखरेलको भनाइ छ ।
स्मरणीय यो छ कि रविको राहदानीसम्बन्धी विषय पनि प्रहरी अनुसन्धानको क्रममा छ । उनले एकैसाथ नेपाली र अमेरिकी राहदानी लिएको भनी गृह मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले जिप्रकालाई र जिप्रकाले प्रहरीलाई यस विषयमा पत्राचार गरेका थिए ।
प्रहरीले यसमाथि अनुसन्धान गरिरहेको समाचार मिडियामा आएका थिए । तर, रवि आफैं गृहमन्त्री नियुक्त भएपछि यो विषय यत्तिकै सेलाएको थियो ।