शक्ति केन्द्रहरुबीच राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भएको छ: उपमहासचिव ज्ञवाली – Nepal Press

शक्ति केन्द्रहरुबीच राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भएको छ: उपमहासचिव ज्ञवाली

रूपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले सरकारमा भाग खोजेर आश्चार्यजनक व्यवहार देखाएको बताएका छन् । राष्ट्रपतिमा भाग खोजेकोप्रति इंगित गर्दै ज्ञवालीले कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको आरोप लगाए ।

एमाले गुल्मीको छैटौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले नेकपा माओवादी केन्द्र सहमतिबाट पछाडि नहट्ने विश्वास व्यक्त गरे ।

सरकार गठन गर्ने क्रममै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति भएका कारण उक्त सहमतिबाट माओवादी ब्याक नहुने दाबी गरे ।

केही दिनअघि सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्ने निर्णय गरेकोप्रति इंगित गर्दै ज्ञवालीले अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भैरहेको उल्लेख गरे ।

‘राष्ट्रभक्तिपूर्ण आन्दोलन कमजोर बनाउने, राजनीतिक अस्थिरता बनाइराख्ने, विभिन्न संस्थाहरु न्यायालय राष्ट्रपति जस्तो संस्था विवादित बनाउने प्रयत्न भैरहेको छ’, उनले भने, ‘यी सबै चुनौती र घेरा तोड्दै अहिलेको गठबन्धन अघि बढ्नुपर्छ । यसको विकल्प छैन ।’

गठबन्धन तलमाथि हुँदा धेरै उथलपुथल हुने बताउँदै ज्ञवालीले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले राम्रो सन्देश दिएको दाबी गर्दै उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमसमेत राम्रो भएको उल्लेख गरे । नयाँ सरकार गठन भएसँगै शेयर बजारमा राम्रो संकेत देखिएको र व्यवसायीहरुले राहत महसुस गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “शक्ति केन्द्रहरुबीच राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भएको छ: उपमहासचिव ज्ञवाली

  1. भारतले नेपालको न्यायालय कब्जा गरेको छ । धमला थरका एकजना पत्रकारलाई दलाल बनाएको छ । अब राष्ट्रपति कब्जा गरेर आफू अनुकुल निर्णय गराउन खोज्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *