ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी – Nepal Press

ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

विराटनगर । मोरङका एक व्यवसायीले बैंकको ऋणका कारण आत्महत्या गरेका छन् । विराटनगरमा विद्युतीय सामग्रीको व्यापार गर्दै आएका विराटनगर-३ का ५७ वर्षीय मोहन न्यौपानेले बुधबार आत्महत्या गरेका थिए । इलामका प्रेमप्रसाद आचार्यले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाहको घटना सेलाउन नपाउँदै उक्त घटना भएको हो ।

व्यवसायसम्बद्ध संगठनका पदाधिकारीले न्यौपानेले बैंकका कर्मचारीले दिएको दबाब थाम्न नसकेर आत्महत्या गरेको दाबी गरेका छन् ।

न्यौपानेले तीन पानाको ‘सुसाइड नोट’ मा आत्महत्या गर्नुको कारण बैंक दबाबतर्फ संकेत गरेका छन् । उनले बैंक र सहकारीको ऋण र नियमित किस्तासमेत गरेर एक करोड ७५ लाख जतिको हिसाब उल्लेख गरेका छन् ।

परिवारका सदस्यलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘म यो धर्तीमा बाँच्च लायक छैन । साग्रिला बैंकको १.४५ करोड ऋण छ । किस्ता करिब ५ लाख गरेर १.५० करोड छ । सहकारी ५ लाख +५ लाख गरी १० लाख छ । नमस्ते सहकारीमा करिब २.५० दिनु छ । क्रेडिट कार्डको बाँकी करिब ४५००० सिद्धार्थ बैंकमा छ । २ ओटा फर्म छ । अडिटर प्रकाश भट्टराईलाई भनेर बन्द गराउनू । शिखर इलेक्ट्रिक बुबाको नाममा छ । बुबाको रकम फिक्सड डिपोजिटबाट निकालेर अन्यत्र राख्नू । बैंकले रोक्का गर्नसक्छ । शिखर इलेक्ट्रिकको नगरपालिकामा बुझाउन बाँकी छ । करिब ३ लाखको शेयर छ । १० लाखको इन्स्योरेन्स पोलिसि छ । पाँचौ किस्ता बाँकी छ ।’

बैंकले दिएको मानसिक तनावका कारण न्यौपानेले आत्महत्या गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात प्रवर्द्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीहरूलाई कामै गर्न नदिने अवस्था राज्यले नै सिर्जना गरेका कारण उनीहरूले आत्महत्याको बाटो रोज्न थालेको रिजालको दाबी छ ।

अध्यक्ष रिजालले बैंकको चर्को ब्याज र किस्ता समयमा भुक्तानी नभएको भन्दै परिवारका सबै व्यक्तिको नाम सञ्चारमाध्यममा सार्वजनिक गरिदिने धम्की बैंकले दिएका कारण न्यौपानेले आत्महत्या गरेको बताए ।

उनले मुलुकमा अहिलेकै प्रणालीका बैंकहरू रहिरहे अर्थतन्त्र सीमित व्यक्तिको हातमा पुग्ने र राष्ट्रिय अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने भन्दै सबै बैंक राष्ट्रियकरण गर्नुपर्ने बताए ।

विराटनगरमा एक दशकयता विद्युतीय सामग्रीको व्यापारमा संलग्न रहेका न्यौपानेले

घटनाको अघिल्लो दिन सोही बैंकका कर्मचारीहरू उनको पसल शिखर इलेक्ट्रिकमा आएर केही कागजातमा सहीछाप गराएर गएको बताइएको छ ।

बुधबार बिहान न्यौपाने झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । न्यौपानेले बैंकबाट लिएको उक्त ऋण रकम कुन कामका लागि खर्च गरेका छन् भन्ने खुलिसकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले कोभिडको महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण देशको आर्थिक अवस्था भयावह रहेको भन्दै यस्तो अवस्थामा व्यवसायीहरूको आत्महत्याका घटनाले थप चिन्तित बनाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर