संघमा जस्तै मधेसमा पनि जनमतलाई दिइयाे सहमतिविपरीतको मन्त्रालय – Nepal Press

संघमा जस्तै मधेसमा पनि जनमतलाई दिइयाे सहमतिविपरीतको मन्त्रालय

जनकपुरधाम । जनमत पार्टीलाई संघीय सरकारमा उद्योग मन्त्रालय दिने सहमति गरेर खानेपानी मन्त्रालय दिएपछि सो पार्टी अझै असन्तुष्ट रहेका वेला मधेस प्रदेशमा पनि सहमतिविपरीतको मन्त्रालय दिइएको छ ।

मधेस प्रदेशमा जनमत पार्टीबाट विनाविभागीय मन्त्रीको शपथ लिएका बसन्त कुशवाहालाई ११ दिनपछि मुख्यमन्त्री सरोजकुमार यादवले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने सहमति गरेका थिए । तर, कुशवाहालाई अचानक मन्त्रालय फेरेर कृषि दिएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले आज जारी गरेको विज्ञप्तिमा जनमत पार्टीका कुशवाहालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको उल्लेख छ ।

नेकपा एमालेका सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य ७ मन्त्रालय भने मुख्यमन्त्री यादवले नै राखेका छन् ।

एमाले र जसपाका मन्त्रीले सहमतिअनुसारकै मन्त्रालय पाए पनि जनमतका कुशवाहाको मन्त्रालय बदलिएको छ । सहमतिविपरीत मन्त्रालय फेरिएर प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ति जारी भएपछि मन्त्री कुशवाहाले आफू झस्किएको प्रतिक्रिया दिएका छन् ।

जनमतका सांसद सञ्जय यादवले सामाजिक विकास मन्त्रालय दिने सहमति भए पनि कृषि मन्त्रालय तोकिएको विज्ञप्ति देखेपछि आश्चर्य लागेको बताए । उनले यो विषयमा छलफल गरिरहेको र छलफलपश्चात मात्र केही भन्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर